सुदूर नेपाललाई विश्वसँग जोड्दै

सप्तमीदेखि दशमीसम्मको मौसम प्रक्षेपण

२०८१ असोज २३, ०२:०९ खबर संवाददाता

काठमाण्डौंः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विजयादशमीसम्मको मौसम प्रक्षेपण गरेको छ।

महाशाखाले दसैँको सप्तमी (२४ असोज), अष्टमी–नवमी (२५ असोज) र दशमी (२६ असोज)को मौसमबारे आकलन गरेको हो। महाशाखाका अनुसार बिहीबार अर्थात् सप्तमी (फूलपाती) देखि दशमीसम्म कोशी र मधेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यी क्षेत्रमा अझै पनि मनसुनी वायुको प्रभाव कायमै छ।

बागमती  र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना छ। तर, यी भूभागका धेरै क्षेत्रबाट मनसुन बाहिरिसकेको छ। मनसुन पूर्ण रूपमा बाहिरिएको क्षेत्रमा भने घमाइलो हुने देखिएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकीका तराई क्षेत्र र बागमतीका पश्चिमी क्षेत्रमा मौसम सफा हुने आकलन गरिएको छ।

मौसमविद् शान्ति कँडेलका अनुसार वर्षाको सम्भावना रहेको क्षेत्रमा ठुलो वर्षा हुने देखिँदैन। ‘कोशीमा मनसुन कायमै छ। हल्का वर्षा हुन सक्छ। बागमती र गण्डकीका पहाडी भेगमा पनि क्षणिक वर्षा त हुन सक्छ। तर, वर्षा भन्नेबित्तिकै आत्तिहाल्नुपर्ने, बाढीपहिरो आउने खालको छैन,’ कँडेलले भनिन्, ‘मनसुन बाहिरिएको क्षेत्रमा विशेषगरी तराईमा वर्षाको सम्भावना कम छ। तर, वर्षा नै हुँदैन भन्ने होइन। आइसोलेटेड वर्षाको सम्भावना त जतिखेर पनि हुन्छ।’

कमेन्ट लोड गर्नुस