सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तडमा नेपाली सेनाले गरिदिने उपचारबाट बिरामीलाई राहत

२०८१ असोज २१, ०४:३१ खबर संवाददाता

बझाङः तारा थापालाई एकैपटक टाउको दुख्ने, रिङ्गाटा लाग्ने, ज्वरो आउनेलगायत समस्याले च्याप्यो।

घरायसी काममा दौडधुप बढी भएपछि बिरामी भएकी उनलाई हत्तपत्त सञ्चो हुने अवस्था थिएन। स्वास्थ्य चौकीमा परीक्षण गर्न जाँदा स्वास्थ्यकर्मीले दैनिक तीनपटक खानु भनेर ‘सिटामोल’ मात्रै थमाए। त्यसले सन्चो नभएपछि थप उपचारका लागि उनी खप्तड राष्ट्रिय निकुञ्जमा रहेको नेपाली सेनाको स्वास्थ्य उपचार केन्द्रमा पुगिन्। त्यहाँ गएपछि भने उनलाई केही दिनमै सञ्चो भयो।

खप्तडछान्ना गाउँपालिका–६ राजकोटकी तारा उपचार गर्न खप्तड गएपछि भारतबाट आएका छिमेकी भने अचम्ममा परेका थिए। तारालाई खप्तडमा उपचार गरेर सञ्चो भएपछि देवकुमार थापाले पनि आफ्नी श्रीमतीलाई उपचार गर्न त्यही लगेको बताए। पछिल्लो समय धेरै बिरामी खप्तडमा रहेको नेपाली सेनाको उपचार केन्द्रमा पुग्ने गरेका छन्।

बाजुराको खप्तडछेडेदह गाउँपालिका–१ का श्याम रावलले ओरालु मेला भर्न जाँदा लेक लागेर रिँगटा लाग्न थालेपछि आफन्तको सुझावपछि नेपाली सेनाको स्वास्थ्य शिविरमा गएर सञ्चो भएको बताए। खप्तड जाँदा हुने यस्ता समस्याका बेला खप्तड ब्यारेकमा रहेको उपचार सेवा धेरैका लागि प्रणदायी बनेको छ। पर्यटक, गोठाला, तीर्थालुलाई पछिल्लो समय यो सेवा ढुक्कले खप्तड जाने आधार बनेको छ।

गोठालो गर्न गएका प्रेम खड्काले हाल नेपाली सेनाको ब्यारेकबाट उपलब्ध हुने औषधि तथा उपचार सेवाले निकै सहज भएको बताए। समरजित गुल्म खप्तडका गुल्मपति सेनानी रामकुमार थापाले स्वास्थ्य समस्या लिएर खप्तडमा दिनहुँ बिरामी आउने गरेको बताए। उनले मेलाका समयमा शिविर तथा अन्य समयमा ब्यारेकको मेडिकलबाटै उपचार गर्ने गरिएको बताए।

उनका अनुसार ओरालु सैन्डाँडा मेलामा मात्रै नभएर जगन्नाथ, दशहरालगायत मेलामा पनि तीर्थालुहरुले नेपाली सेनाले आयोजना गर्ने गरेको शिविरबाट सेवा लिने गरेका छन्। अग्लो ठाउँमा चढ्दा तीर्थालु तथा पर्यटकलाई लेक लाग्ने समस्याले धेरैलाई समस्या हुने गरेको छ। त्यसकारण शिविर आयोजना गर्ने गरिएको हो। यसका साथै मध्यवर्ती क्षेत्र आसपासमा हुने प्राकृतिक तथा अन्य दुर्घटनामा पनि उद्धार तथा खोज गर्न नेपाली सेनाले सक्रियता देखाउँदै आएको छ।
 

कमेन्ट लोड गर्नुस