सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको जोरायल गाउँपालिकाले दियो चलचित्र निर्माणका लागि १० लाख, स्थानीयको विरोध

२०७६ असार ३, १०:१५ नवराज पनेरु

डोटीको जोरायल गाउँपालिकाले नेपाली चलचित्र निर्माणका लागि १० लाख दिने निर्णय गरेपछि विरोध भएको छ। जोरायल गाउँपालिकाको जेठ २७ गते बसेको गाउँसभाले नायक बिराज भट्टको “साङ्लो“ चलचित्र निर्माणका लागि १० लाख दिने निर्णय गरेपछि विरोध भएको हो। जनताबाट संकलन भएको कर कुनै व्यक्तिले निर्माण गर्न लागेको चलचित्रका लागि खर्च गर्ने निर्णय गरेको भन्दै गाउँपालिकाका स्थानीयले विरोध जनाएका हुन्। स्थानीय प्रशान्त वलीले गाउँपालिकाको निर्णयलाई जनताको पसिनाले भरिएको ढुकुटीमाथिको ठाडो दोहन भन्दै सामाजिक सन्जाल फेसवुकमा विरोध जनाएका छन्। ‘गाउँपालिकाले चलचित्र निर्माणका लागि १० लाख दिने निर्णय गर्नु जनताको पसिनामाथिको मनोमानी हो।’ उने भने, ‘जनतालाई खानेपानीको सुविधा छैन्, गतिला विद्यालय छैनन्, सडक छैन्, कैयौँ जनता सिटामोल समेत किनेर खाने हैसियतका छैनन्, त्यो रकम त्यस्ता लक्षित वर्गहरुकालागि खर्च गर्न सकिँदैन थियो?’

अर्का स्थानीय राकेश मल्ल ठकुरीले १० लाख दिने निर्णयले नेपाल सरकारको ढुकुटीबाट आफ्नो दुनो सोज्याउन गाउँपालिकाको रकमको दुरुपयोग भएको बताए। ‘सत्यतथ्य छानबिन गरि कार्वाही गरियोस।’ उनले भने, ‘जनतालाई पुर्वाधारको खाँचो भएको अवस्थामा चलचित्रका लागि बजेट विनियोजन गर्ने गाउँपालिकाको निर्णय उचित छैन्।’ श्रोतका अनुसार गाउँपालिकाका अध्यक्ष दुर्गा ओझाको समेत चलचित्र साङलोमा अभिनय  रहेको छ। केहि जोरायल क्षेत्रका अन्य स्थानीयको समेत चलचित्रमा अभिनय रहेको स्थानीयले नै बताएका छन्।  

यता जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा ओझाले भने गाउँसभाको बहुमतको निर्णय भएको भन्दै चलचित्रको जोरायल क्षेत्रमै छायाङकन भईरहेकाले पर्यटन प्रवर्दनका लागि सेतु सावित भएको दावी गरे। ‘गाउँपालिकाले चलचित्र निर्माणका लागि १० लाख दिने गौरवको निर्णय गरेको छ,’ उनले भने, ‘गाउँपालिकाको यो निर्णयले सिङगो जोरायल क्षेत्रको पर्यटन प्रवर्दनमा महत्वपूर्ण भुमिका खेल्ने छ।’

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस