सुदूर नेपाललाई विश्वसँग जोड्दै

विज्ञहरु भन्छन्–भ्रष्टाचार बढाउन सुदूरपश्चिम सरकारले कनिका छरे जस्तै बजेट ल्यायो

२०७६ असार ३, ०७:२९ नवराज पनेरु

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेट कनिका छरे जस्तै भएको विज्ञहरुहरुले टिप्पणी गरेका छन्। परिणाममुखी भन्दा पनि भ्रष्टाचारलाई प्रशय दिने किसिमले प्रदेश सरकारले कनिका छरे जस्तै गरि बजेट ल्याएको विज्ञहरुले टिप्पणी गरेका हुन्। प्रदेश सरकारले २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएपनि ठोस योजना र प्रदेशलाई समृद्धी तर्फ लम्काउन सक्ने कार्यक्रमहरु अटाउन नसकेको आरोप लागेको हो। 
आर्थिक बर्षभरी सयौँ योजना कार्यान्वयन गर्नुपर्ने तर त्यस्ले नतिजा दिन नसक्ने गरि बजेट ल्याएको अर्थ सम्वन्धिका जानकार गगन घिमिरेले बताए। ‘चालु आर्थिक बर्षका लागि एक बर्ष अगाडी ल्याईएको बजेटकै सिको गर्दै सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक बर्षका लागि पनि वितरणमुखी बजेट ल्याएको हो।’ उनले भने, ‘प्रदेश सरकारको बजेटमा कृषि र भौतिक पुर्वाधार विकासलाई जोड दिईएपनि वितरणमुखी बजेट र कार्यक्रमका कारण यस्ले परिणाम दिनेमा आशंका छ।’ 
वितरणमुखी बजेटले भ्रष्टाचार बढाउने पनि आशंका थपिएको अर्थकै जानकार रामवहादुर बुढाऐरले बताए। ‘बजेट राजनीतिक अर्थ कार्यक्रम भएपनि परिणामुखी आउनु पर्ने थियो।’ उनले भने, ‘तर कनिका छरे जस्तै गरि बजेट आउँदा कार्यकर्ता पोस्ने र योजना कार्यान्वयन गर्दा भ्रष्टाचार मौलाउने सम्भावना बढि हुन्छ।’
सुदूरपश्चिम प्रदेशको आवश्यकता अध्ययन विना नै अपुरो बजेट आएको टिप्पणी अर्थ सम्वन्धिकै जानकार डाक्टर राजेन्द्रविर चन्दको छ। ‘आर्थिक बर्ष २०७६÷०७७ का लागि ल्याईएको बजेट र चालु आर्थिक बर्षका लागि एक बर्ष अगाडी ल्याईएको बजेटमा समावेश गरिएका कतिपय एउटै कार्यक्रममा पनि उद्येश्य फरक–फरक राखिएको देखिएको छ।’ उनले भने– ‘जस्ले गर्दा प्रदेश सरकारले बजेट ल्याउँदा आफैले गत बर्ष ल्याएको बजेटको समेत अध्ययन नगरेको पुष्टि हुन्छ।’
उनका अनुसार चालु आर्थिक बर्षका लागि बजृट ल्याउँदा गत बर्ष प्रदेश वस सेवा सञ्चालनको योजना वजेट वक्तव्यमा अटाएकोमा यो बर्ष त्यस्का लागि प्रक्रिया अगाडी बढाउने योजना राखिएको छ। 
सुदूरपश्चिम प्रदेशको बजेटमा गत बर्ष जस्तै यो बर्ष पनि कृषिलाई प्राथमिकता दिईएको दावी गरिएको छ। तर प्रदेशमा ८४ प्रतिशत जनसङख्या कृषिमा आधारित भएपनि प्रदेशका १४ दशमलव चार प्रतिशत सक्रिय जनसंख्याले मात्र कृषि क्षेत्रबाट आय आर्जन गर्दै आएको यथार्तलाई बजेटले सम्वोधन गर्न नसकेको तर्क विज्ञहरुको छ। भैसी पालन, च्याङग्रा पालन लगायतमा बजेट विनियोजन गरिएपनि प्रदेशको उर्वरुभमिको सदुपयोग हुने किसिमले बजेट आउन नसकेको तर्क पनि धेरैको छ। यहाँको पर्यटन प्रवद्र्धन र औद्योगीक विकासका लागि पनि प्रदेशको बजेटले ठोस योजना ल्याउन नसकेको आरोप कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारीले बताए। 
विज्ञहरुले सुदूरपश्चिम प्रदेशमा आयात प्रत्येक बर्ष गुणात्मक रुपमा बढ्दै गएको छ भने निर्यातको दर निकै निराशाजनक भएपनि सरकारले प्रत्येक बर्ष ल्याउने बजेट परिणाममुखी नहुँदा आयात घटाउन नसकिएको बताएका छन। आयातलाई न्ययूनीकरण र निर्यातलाई बढाउनका लागि प्रदेश सरकारले ल्याएको बजेटले नसक्ने तर्क धेरैको छ। चालु आर्थिक बर्षको ११ महिनामा मात्रै कैलाली भन्सारबाट १९ अर्व ३६ करोडको सामाना आयात भएको छ भने ७१ करोड तीन लाखको सामान मात्रै निर्यात भएको छ। 
यता प्रदेश सरकारले भने अन्य प्रदेशको जस्तो महत्वाकाक्षी बजेट नल्याएको तर्क गरेको छ। कार्यान्वयन गर्न सक्ने र श्रोतको सुनिश्चिता हुने गरि बजेट प्रस्तुत गरेको दावी सरकारको छ। यो बजेटले प्रदेशलाई समृद्धीको मार्गमा अगाडी बढाउने दावी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटवहादुर बोहराको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस