सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ जीप दुर्घटनाः १० जनाको मृत्यु भएपछि दुई गाउँ शोकमा

२०७६ असार ३, ०७:११ डीवि विष्ट

बझाङमा जीप दुर्घटना परि मृत्यु हुनेको संख्या १०  पुगेको छ। सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्री बाट मष्टा गाउँपालिका जादै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टा गाउँपालिका वडा नम्बर १ डौठी भन्ने ठाँउमा दुर्घटना भएको हो। दुर्घटनामा १० जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। ५ जना घाईते भएका छन्।  

दुर्घटनामा परि एकै गाँउका ७ जनाको मृत्यु भएको छ भने  एकै परिवारका ३ जनाको मृत्यु भएको छ। स्थानीय रामचन्द्र रोकायाका अनुसार मष्टा गाँउपालिका वडा नम्बर १ कोटदेबलका ५० बर्षीय कलक खड्का, उनकी श्रीमती ४८ बर्षीय जुनधारा खड्का र उनका १२ बर्षीय छोरा सरोज खड्काको मुत्यु भएको छ। यस्तै सोही गाँउका १९ बर्षीय हिक्मत खड्का, ५२ बर्षीय धौली देवि खड्काको समेत ज्यान गएको छ। कोटदेबलकै १५ बर्षीय जुना  खड्का, ८ बर्षीय विपना खड्काको मृत्यु भएको छ। दुर्घटनामा परि मष्टा गाँउपालीका वडा नम्बर १ रनाडाका ३० बर्षीय भक्त द्धाल र ३५ लक्ष्मि द्धालको समेत मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक माहानन्द जोशीले बताए। उनका अनुसार चालक मष्टा गाउँपालिका वडा नम्बर १ जिनाडाका २२ बर्षका सुरेन्द्र थापाको समेत मृत्यु भएको छ ।  

घाईते तीन जनालाई हेलीकोप्टर मार्फत नेपालगञ्ज लगिएको छ। तीनै जनाको अवस्था गम्भिर रहेको जिल्ला अस्पताल सिमखेतका डाक्टर सन्दिप ओखेडाले बताए। उनका अनुसार मष्टा गाउँपालिका वडा नम्बर १ का १२ बर्षीय गणेश खड्का, २३ बर्षीय गोकुल शाही र ३३ बर्षीय जनक द्धाल गम्भिर घाईते रहेको र उनिहरुको टाउकोमा चोट लागेको  छ। वडा नम्बर १ कै ३५ बर्षीय अनिता द्धाल, १५ बर्षीय संगीता खड्काको जिल्ला अस्पताल सिमखेतमा उपचार भईरहेकोमा उनिहरुलाई समेत नेपालगञ्ज रेफर गरिएको डाक्टर ओखेडाले बताए।  मृतक सबैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

मष्टा गाउँपालीकाको वडा नम्बर १ शोकमा डुबेको छ। एकै वडाका १० जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्यबहादुर केसीका अनुसार दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु, उकालो र साँघुरो सडक रहेको छ। जीप सडकबाट झण्डै ४÷५ सय मिटर तल भिरमा खसेको थियो। 

 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस