सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको देवहरिया वनस्पति उद्यानलाई अनुसन्धान केन्द्रको रुपमा विकास गरिँदै 

२०८१ असोज १४, ०६:५७ नारायण अवस्थी

धनगढीः धनगढी स्थित देवहरिया वनस्पति उद्यानको विकास गुरुयोजना अनुसार गरिने भएको छ। संघीय सरकार मातहतको वनस्पति अनुसन्धान केन्द्र धनगढीले उद्यान विकासको गुरुयोजना बनाउन लागेको हो। उद्यानमा वनस्पति अनुसन्धान, संरक्षण तथा विकास एवं जडिबुटी विकास कार्यक्रम सञ्चालनमा छन्। १४९ दशमलव ५ हेक्टर क्षेत्रफलमा फैलिएको उद्यानलाई पर्यापर्यटन र शैक्षिक गन्तव्य बनाउने योजना छ।

धनगढी उपमहानगरपालिका कार्यालयदेखि करिब ३ किलोमिटर टाढा धनगढी-७ मा रहेको देवहरिया वनस्पति उद्यान विकास गर्न १० वर्षीय गुरुयोजना बन्न लागेको हो। १२ दशमदव ५५ हेक्टरमा फैलिएको जाखौर तालसहित उद्यानको विकास गर्न गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ।

जैविक विवधता र सिमसार क्षेत्रसमेत रहेको देवहरिया वनस्पति उद्यानलाई शैक्षिक एवं अनुसन्धान केन्द्रको रुपमा विकास गर्न गुरुयोजना बनाइन लागेको वनस्पति अनुसन्धान केन्द्र धनगढीका प्रमुख वरिष्ठ वैज्ञानिक अधिकृत गङ्गादत्त भट्टले बताए। उनले उद्यानलाई शैक्षिक केन्द्र तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न गुरुयोजना बन्न लागेको बताए। 'उद्यानलाई शैक्षिक तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न र पर्यापर्यटनको प्रमुख गन्तव्यको रुपमा विकास गर्न दस वर्षीय गुरुयोजन बन्न लागेको हो,' उनले भने, 'गुरुयोजना अन्तिम चरणमा पुगेको छ। गुरुयोजनामा हाल भइरहेका कामका अतिरिक्त थप काम र अनुसन्धानसमेत गरिनेछ।'

पर्याप्त खुला ठाउँ र ताल क्षेत्रसमेत रहेको देवहरियामा वनस्पति उद्यान व्यवस्थापन तथा सौन्दर्यकरणका लागि मौसमी र बहुवर्षीय शोभनीय फूल बिरुवा उत्पादन गरिन्छन्। उद्यान भित्र थिमेटिक गार्डेनहरू बनाइएका छन्। थिमेटिक गार्डेनमा जडिबुटी बाटिका, जर्मप्लाज्म बाटिका, चुरे बाटिका, जलीय बाटिका, साइटिस बाटिका, फोहोरा बाटिका,  शान्ति बाटिका, विश्राम बाटिका, हेज बाटिका व्यवस्थापन गरिएको छ।

यस्तै, अलङ्कारिक बाटिका, ट्याक्सेनोमिक बाटिका, इथ्नो वोटानिकल वाटिका गुलाव बाटिका, ढुङ्गे वाटिका, बगम्बेली वाटिका तथा क्याक्टस वाटिका रहेका छन्। बन्न लागेको गुरुयोजनामा वनस्पति उद्यानलाई मुलुककै उत्कृष्ट उद्यानको रुपमा विकास गरिने वरिष्ठ वैज्ञानिक अधिकृत भट्टले बताए। देवरिया उद्यानलाई मुलुककै उत्कृष्ट उद्यानका रुपमा विकास गर्न अध्ययन अनुसन्धान र संरक्षण सम्बन्धि कार्यहरूलाई बढावा दिने उद्येश्य राखिएको छ,' उनले भने, 'मनोरञ्जनात्मक क्रियाकलापका साथै पर्यापर्यटनमा टेवा पुग्ने कार्यक्रमहरू मास्टर प्लानमा समेटेका छौँ। यसलाई विश्वकै नमुना र उत्कृष्ट उद्यान बजाउन सकिन्छ।'

के- के निर्माण हुन्छन् पार्कमा?
गुरुयोजना अनुसार वनस्पति उद्यानमा नभएका  वनस्पतिको सङ्कलन तथा संरक्षण गरिने भएको छ। जसका लागि जिन बैंक स्थापान हुने भएको छ। उद्यानमा संकटापूर्ण प्रजातिको स्व-स्थानीय संरक्षण गरिनुका साथै गुणस्तर विकासको लागि खेती प्रविधिमा अनुसन्धानसमेत हुने भएको छ। उद्यानले भेराइटी विकास कार्यक्रम, पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम, जटिबुटी खेती सम्बन्धी तालिम, प्रयोगशाला सेवा सञ्चालन तथा विद्यालयहरूमा जडिबुटी सम्बन्धी सचेतना कार्यक्रम चलाउने छ। गुरुयोजनामा अतिरिक्त थिमेटिक गार्डेन व्यवस्थापन र विकास गरिने छ भने म्युजियम, खुल्ला थिएटर, चरा अवलोकन, मनोरञ्जन बगैंचा, बाल उद्यान, विद्युतीय रिक्सा मार्ग जस्ता ३० वटा संरचना निर्माण गरिने छन्। गुरुयोजना अनुसार सबै काम गर्न सके देवहरिया वनस्पति उद्यान पर्यापर्यटनको उत्कृष्ट गन्तव्य बन्ने वनस्पति अनुसन्धान केन्द्र धनगढीका वरिष्ठ वैज्ञानिक अधिकृत भट्टले बताए।

देवहरिया वनस्पति उद्यानलाई जडिबुटीका गुणस्तरीय बिरुवा उत्पादन र वितरण गर्दै आएको छ भने गुरुयोजना अनुसार विकास गरेर विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई वानस्पतिक स्रोतको अध्ययन गर्ने केन्द्रको रुपमा स्थापित गर्ने उद्येश्य राखिएको छ। 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस