बाजुरामा दसैँ–तिहारमा खाद्यान्न अभाव नहुने
धनगढीः बाजुरामा दसैँ–तिहारमा खाद्यान्न अभाव नहुने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा, मार्तडी र कोल्टी शाखामा मागअनुसार खाद्यान्न मौज्दात रहेकाले यस वर्ष विगतमा जस्तो खाद्यान्न अभाव नहुने जनाइएको हो।
मार्तडी शाखामा चार हजार र पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकास्थित कोल्टी शाखामा दुई हजार तीन सय क्विन्टल चामल मौज्दात रहेकाले दसैँ तिहारमा खाद्यान्नको कमी नहुने दाबी गरिएको हो। विगतमा जस्तो खाद्य अभावका कारण कतिपय नागरिकले महँगो चामल किन्न बाध्य हुने अवस्था यसपटक नआउने कम्पनीले बताएको छ।
शाखा कार्यालय मार्तडीमा चार हजार क्विन्टलमध्ये अरुवा मोटो चामल दुई हजार १०६, अरुवा सोना चामल एक हजार ६८५ र जिरा मसिनो चामल दुई सय २५ क्विन्टल मौज्दात रहेको छ। यस्तै, कोल्टी डिपो कार्यालयमा दुई हजार तीन सय क्विन्टल चामलमध्ये अरुवा मोटो एक हजार ९६९, सोना मन्सुली २०२ क्विन्टल र जिरा मसिनो १५१ क्विन्टल चामल मौज्दात रहेको छ।
कवाडी बिक्री केन्द्रमा भने करिब सात महिना र मुक्तिकोटमा तीन महिनादेखि खाद्यान्न आपूर्ति हुन सकेको छैन ।