सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा विकास बजेट ४६ प्रतिशत मात्रै, डल्लो बजेट ढाई अर्व

२०७६ असार २, १०:५० नवराज पनेरु

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७६-०७७ का ल्याएको बजेटमा ४६ प्रतिशत मात्रै विकास बजेट रहेको छ। २८ अर्ब १६ करोडको बजेट ल्याएको प्रदेश सरकारले पुँजीगत अर्थात विकास तर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार बजेट विनियोजन गरेको छ। जुन कुल बजेटको ४६ प्रतिशत मात्रै हुन आउँछ। यस्तै चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख अर्थात ४४ दशमलव ६६ प्रतिशत रहेको छ।

संघीय सरकारले जेठ १५ मा ल्याएको बजेटको तुलनामा प्रदेश सरकारले विकास बजेट बढि विनियोजन गरेको भएपनि विश्व व्यापी परिपाटीलाई भने सुदूरपश्चिम सरकारले समेत कार्यान्वयन गर्न सकेको छैन्। संघीय सरकारले विकास बजेट २६ प्रतिशत मात्रै विनियोजन गरेको थियो। अर्थ सम्वन्धिका जानकार शिवहरी मुडभरीले जनताबाट संकलन भएको सबै करले समेत अव चालु तर्फको खर्च नपुग्ने अवस्था श्रृजना भईरहेको बताए।

‘जनताले तिरेको कर कर्मचारी र जनप्रतिनिधिको सेवा सुविधामा मात्रै खर्च हुने हो भने जनताले किन कर तिर्ने ?’ उनले प्रश्न गरे। अर्थ सम्वन्धिकै जानकार राजेन्द्रविर चन्दले प्रदेश सरकारले ल्याएको बजेटमा चालु तर्फ हुनुपर्ने खर्चलाई समेत पुँजिगतमा राखेर पुँजिगत बजेट बढि देखाईएको बताए। ‘चालु आर्थिक बर्षका लागि विनियोजन भएको बजेटको प्रतिफल समेत देखिएको छैन्। प्रतिफल नै नआउने किसिमले बजेट आउनु प्रदेशलाई समृद्धिको मार्गमा लैजान मुस्किल हुनु हो।’ उनले भने। 

कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारीले सानो आकारमा पुँजिगत बजेट ल्याएको प्रदेश सरकारले विकास र समृद्धिका लागि उचित नीति समेत ल्याउन नसकेको बताए। ‘पर्यटकीय सम्भावनाले भरिपूर्ण सुदूरपश्चिममा पर्यटन प्रवद्र्धन हुने किसिमको योजनामा बजेटमा देखिएको छैन्।’ उनले भने। 

डल्लो बजेट ढाई अर्व
आर्थिक बर्ष २०७६-०७७ को बजेटमा पनि सरकारले डल्लो बजेट राखेको छ। चालु आर्थिक बर्षका लागि झण्डै तीन अर्व डल्लो बजेट राखेको प्रदेश सरकारले आगामी आर्थिक बर्षमा भने २ अर्व ५२ करोड डल्लो बजेट राखेको छ। प्रदेश सरकारले डल्लो बजेट राखेर कार्यकर्ता पोस्ने खेल मात्रै गरिरहेको आरोप विगतदेखि नै लाग्दै आएको छ। चालु आर्थिक बर्षको डल्लो बजेट फुटाउदै प्रदेश सरकारले मन्त्रीपरिषद्को बैठकबाटै योजना बाडेको थियो। जस्ले गर्दा योजना छनौटमा निकै मनोमानी भएको आरोप लाग्दै आएको छ। आगामी आर्थिक बर्षमा समेत सोही परिपाटीले निरन्तरता पाउने आशंका बढेको छ।

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस