सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको घट्टेखोला लघु जलविद्युत महिनौंदेखि बन्द, उपभोक्ता अन्धकारमा 

२०८१ असोज ४, ०९:०३ खबर संवाददाता

बझाङः बझाङको छबिसपाथीभेरा गाउँपालिका-७ मा रहेको घट्टेखोला लघु जलविद्युत महिनौंदेखि बन्द रहेको छ।

जलविद्युत बन्द हुँदा नौरा घट्टेगाउँका बासिन्दा डेढ महिनादेखि अन्धकारमा रात बिताउन बाध्य रहेका छन्। गाउँमा भएको लघु जलविद्युतको सेवा बन्द भएपछि आफुहरुले सास्ती खेपिरहेको स्थानीयले बताएका हुन्।

घट्टेखोला लघु जलविद्युत करिब डेढ महिनादेखि अवरुद्ध भएको स्थानीय सुबास मण्डेलले बताए। ‘विद्युत् सेवा अवरुद्ध भएपछि अन्धकार रात त यहाँको दैनिकी नै भयो। दैनिक जसो गरिने कामकाज पनि प्रभावित बनेको छ।' उनले भने, 'विद्यार्थीलाई लेखपढ गर्न समस्या भएको छ। मोबाइलमा चार्ज नभएर कतिपय स्थानीय बासिन्दा सञ्चार विहीन भएका छन् भने, कतिपयले नजिकै बुडखोरीको विद्युत्बाट मोबाइल चार्ज गर्न जाने गरेका छन्।'

विद्युत् सेवा अवरुद्ध भएको लामो समय भइसक्दापनि सुचारु हुने केही सुरसार न देखिएको हो। विद्युत् उपभोक्ता समिति र स्थानीय सरकारले पनि यस विषयमा चासो नदेखाएको स्थानीयले बताएका छन्। सानो क्षमता भएको लघु जलविद्युत आयोजनाको डाइनामा बिग्रिएपछि मर्मत गर्न नसक्दा बन्द भएको उपभोक्ताले बताएका छन्।

लामो समयदेखि सञ्चालन हुँदै आएको ४ किलोवाट क्षमताको डाइनामामा अहिले खिया लागेर बिग्रिसकेको विद्युत् अपरेटर कलक मण्डेलले जानकारी दिए। मेसिन नै ल्याउनुपर्ने र प्राविधिकलाई बोलाएर मात्र काम गर्न सकिने उनको भनाइ छ। ४ किलोवाट उत्पादन हुन सक्ने घट्टेखोला लघु जलविद्युत आयोजना रकम अभाव, सम्बन्धित निकायको ध्यान नजानु र मर्मत सम्भारको अभाव लगायतका कारणले अलपत्र हुने सम्भावना देखिएको स्थानीयले बताएका छन्।

कमेन्ट लोड गर्नुस