सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपसभामुखलाई राजीनामा दिन कांग्रेसको आग्रह

२०८१ भदौ २७, ०७:२९ खबर संवाददाता

काठमाडौंः सत्तासीन कांग्रेसले उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिएर तत्काल मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

उपसभामुख रानामगरमाथि उठेका प्रश्न गम्भीर रहेको भन्दै कांग्रेसले मार्गप्रशस्त गर्न आग्रह गरेको हो। बुधवार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारीको बैठकले उपसभामुखले पदीय मर्यादाविपरीत काम गरेको ठहर गर्दै राजीनामा माग गरेको हो।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार कांग्रेसले मार्गप्रशस्त नै उचित उपाय ठहर हुने निर्णय लिएको बताए। घिमिरेले भने, ‘उपसभामुखले त्यस्तो सिफारिस गर्नै मिल्दैन। जुन काम उहाँबाट भयो त्यो गलत छ।

त्यसले संसद्लाई नै अपमानित गर्ने काम गरेको छ। मुलुकको पनि शिर झुकाएको कांग्रेसको बुझाइ छ।’ कांग्रेसको आधिकारिक धारणाको विषयमा थप्दै घिमिरेले भने, ‘उपसभामुख आफैंले राजीनामा दिएर मार्गप्रशस्त गर्नु ठीक हुन्छ।’

उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरेर भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेको पत्र बाहिरिएको थियो। उक्त विषय राष्ट्रहितविपरीत र पदीय गरिमाविपरीत भएको भन्दै सत्तारूढ दलहरूले मंगलवार बिहानबाट राजीनामाको विषय उठाएका थिए।
 

कमेन्ट लोड गर्नुस