सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ उड्यो समिट एयरलाइन्सको ‘नाइन एनएमजी कल साइन लेट’ जहाज

२०८१ भदौ २४, ०६:३५ खबर संवाददाता

धनगढीः २०३५ सालमा कच्ची विमानस्थल निर्माण सम्पन्न भएपछि पहिलोपटक तत्कालीन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको बझाङ विमानस्थल स्थल २०६५ सम्म चालु थियो।

त्यसपछि १० वर्षपछि २०७५ असोजमा बझाङ विमानस्थलमा हवाईजहाज अवतरण भएको थियो। त्यसबेला परीक्षण उडानका क्रममा नेपाल वायुसेवा निगमको वाइ १२ ई जहाज अवतरण भएको थियो। नेपालगन्जबाट उडेको ‘नाइन एन एकेयू कलसाइन’ को उक्त जहाज ४५ मिनेट लगाएर बझाङ पुगेको थियो।

विमान स्थल नियमित उडान गर्न योग्य छ/छैन भनेर बुझ्न प्राविधिक टोलीसहित पुगेको जहाज २० मिनेट रोकिएर नेपालगन्ज नै फर्केको थियो। पछिल्लो समय निगमबाहेकका निजी विमान कम्पनीहरूले बझाङबाट नेपालगन्ज र धनगढीका लागि उडान भर्थे। २०६६ मा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालयसमेत बन्द गरेको थियो।

दुई वर्षदेखि हप्तामा दुई दिन उडान गर्दै आएको समिट एयरले २०८० चैत अन्तिम हप्तादेखि उडान बन्द गरेको थियो। तर बन्द भएको पाँच महिनापछि फेरि उडान सुरु भएको छ। सोमबार समिट एयरको जहाजले उडान गरेको हो। समिट एयरको नाइन एनएमजी कल साइन भएको लेट विमान सोमबार दिउँसो १२ः३४ मा देवल विमानस्थलमा अवतरण गरिएको थियो।

क्याप्टेन रविन्द्रबहादुर रोकाया र मनिस पन्तले सो उडान गरेको समिट एयरले जनाएको छ। समिट एयरका बझाङ प्रतिनिधि हिक्मतबहादुर सिंहले मौसमको गढबढीका कारण केही महिना रोकिएको भएपनि अब नियमित उडान हुने बताए। उनले जहाजको भाडा दर पनि पहिलेको भन्दा घटेको बताए।

यसअघि बझाङबाट धनगढी जाँदा र धनगढीबाट बझाङ आउँदा प्रतिव्यक्ति सात हजार रुपैयाँ भाडा दर रहेको थियो। अहिले घटेर बझाङबाट धनगढी ६ हजार ७३० र धनगढीबाट बझाङको भाडा ६ हजार ८३० कायम गरिएको उनले बताए। लामो समयसम्म उडान बन्द हुँदा छिटो गन्तव्यमा पुग्नुपर्ने यात्रु र इमरजेन्सी बिरामीहरुलाई पनि छिटो अस्पताल पुगाउन समस्या हुँदै आएको थियो।

कमेन्ट लोड गर्नुस