सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपराष्ट्रपति कार्यालयका दुई सचिवको सरुवा

२०८१ भदौ २२, ०७:४२ खबर संवाददाता

काठमाडौँः सरकारले दुई सचिवलाई सरुवा गरेको छ। बिहीवारको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति कार्यालयका सचिव मधुकुमार मरासिनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको हो।

त्यस्तै गण्डकी प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ। बैठकले सचिवमा बढुवा भएका गोविन्दबहादुर कार्कीलाई बागमती प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरेको छ।

कार्की यसअघि बागमती प्रदेशकै कायममुकायम प्रमुख सचिव थिए। योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले मुख्यसचिव नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै अनिवार्य अवकाशमा जानुअघि नै राजीनामा दिएका थिए।

त्यसपछि रिक्त सचिव पदमा सरकारले मरासिनीलाई सरुवा गरेको हो। बिहीवारकै बैठकले तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी गोकर्णमणि दुवाडीलाई गृह सचिवमा सरुवा गरेको थियो। दुवाडीले शुक्रवार पदभार ग्रहण गरेका थिए।
 

कमेन्ट लोड गर्नुस