सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा वर्षेनी मल अभाव भएपनि विकल्पको खोजी भएन

२०७६ जेठ ३२, १२:१३ रोशन भट्ट

बजेटको समस्या देखाउँदै सुदूरपश्चिममा वर्षेनी मल अभाव भएपनि विकल्पको खोजी नै भएको छैन्। बजेट अपुग भएकै कारण वर्षेनी मल अभाव भईरहेका बेला मलको सहज आपुर्तीका लागि कुनै पनि निकायले विकल्पको खोजी नगरेको हो। मल खरिद गर्नको लगि वजेट अपुग हुने गरेकै कारण वर्षेनी आवश्यकताको ४० प्रतिशत मात्र मलको उपलव्धता हुँदै आएको छ।

मल अन्तराष्ट्रिय बजारबाट मात्र खरिद गर्न पाईने भएपनि कृषि बाटै समृद्धिको नारा लगाईरहेका प्रदेश सरकारले पनि सुदूरपश्चिममा मलको अभाव हुन नदिन विकल्प नै नखोजेको देखिएको छ। अहिले सुदूरपश्चिममा आवश्यकताको ४० प्रतिशत मात्र मल आयात भईरहेको छ।

आवश्यकताको ६० प्रतिशत मल आयात नहुँदा यस क्षेत्रका किसानले प्रत्येक वर्ष मल अभावको समस्या झेल्नु परेको छ। बजेट अभावकै कारण मल कम मात्रामा आयात हुने गरेकाले प्रत्येक वर्ष यस्तो समस्या देखापर्ने गरेको कृषि सामाग्री कम्पनी लिमिटेड धनगढीका निमित्त क्षेत्रिय प्रवन्धक नवल सिंह वोगटीले बताए। सरकारले मल आयात गर्नको लागि आवश्यक पर्ने वजेट विनियोजन नगर्दा धान खेतीको सिजन चलिरहेका वेला विउ राख्नको लागि आवश्यक पर्ने डिएपी मलको अभाव भएकाले यस क्षेत्रका किसानहरु विउ राख्नबाट पनि वञ्चित भएका छन्।

मल आपुर्तीको माग राख्दै विभिन्न निकायलाई गुहार्दा पनि विकल्पको खोजी गरिएको छैन्। मल अन्तराष्ट्रिय बजार बाट मात्रै खरिद गर्न पाईने भन्दै आफुहरुले संघीय सरकारसंग समन्वय गर्ने काम मात्र गरिरहेको सुदूरपश्चिम प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत सुनिल जोशीले बताए। संघीय सरकारले विनियोज गरेको बजेट मल खरिद गर्नको लागि पर्याप्त नभएका वेला किसानलाई आवश्यक पर्ने मल आपूर्ती गर्नको लागि अन्य विकल्प पनि छन्।

मूल्य केही बढी तिरेर निजी क्षेत्रले पनि खरिद गर्न पाउने व्यवस्था हुदा पनि प्रदेश सरकारले त्यसको वातावरण बनाउन सकेको छैन्। सुदूरपश्चिम प्रदेशमा युरिया १५ हजार मेट्रिक टन, डियपी १० हजार मेट्रिक टन र पोटास एक हजार मेट्रिक टन आवश्यक रहेको छ।

तर अहिले सम्म कृषि सामाग्री लिमिटेडमा युरिया चार हजार पाँच सय ५८ मेट्रिक टन, डिएपी चार हजार एक सय ६६ मेट्रिक टन र पोटस दुई सय आठ मेट्रिक टन मात्र आयात भएको छ । तर सुदूरपश्चिमकी भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता देवी चौधरीले भने मल अभाव हुन नदिन आफुहरु लागिरहेको दावी गरिन्। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस