सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको देवहरियामा वनस्पतीको प्रयोगशालासहित नयाँ योजना तयार हुँदै

२०८१ भदौ १२, ०९:२१ कमल सावद

धनगढीः कैलालीको धनगढीस्थित देवहरियामा वनस्पतीको प्रयोगशालासहित नयाँ योजना तयार गर्ने काम अघि बढेको छ।

धनगढी उपमहानगरपालिकाले यसअघि जाखोर ताल क्षेत्रमा सोलार लाइट र मार्वलसहितको सडक निर्माण गरेको थियो। उपमहानगरपालिकाले आफूखुसी निर्माण गरेका संरचना यतिबेला भने प्रयोगविहिनको अवस्थामा छन्। 
सङ्घीय सरकार मातहतको वनस्पती अनुसन्धान केन्द्र, धनगढी माहतको देवहरीया वनस्पती उद्यानको क्षेत्र रहेको तालमा निर्माण गरिएका संरचनाहरु हाल प्रयोगविहीन अवस्थामा छन्।

वनस्पती अनुसन्धान केन्द्र, धनगढीले देवहरीया क्षेत्रको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पार्दै छ। धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले पुराना संरचनाहरुको संरक्षण गर्दै नयाँ संरचनाहरु निर्माण हुने बताए। उनले भने, ‘वनस्पती विभागले लगानी गर्दैछ। डिपीआर तयार हुँदैछ। वनभोज क्षेत्र निर्माण हुनेछ।’

देवहरीया वनस्पती उद्यान एक सय ४९ दशमलव पाँच हेक्टरमा फैलिएको छ। जाखोर तालसहितका तीनवटा जैविक विविधता भएका तालहरुको मात्र १६ हेक्टर क्षेत्रफल रहेको छ। जाखोर तालको मात्र १२ दशमलव ५५ हेक्टर क्षेत्रफल रहेको छ। तालसहितको क्षेत्रफलमा वनस्पती अनुसन्धान केन्द्रले देवहरीया वनस्पती उद्यानको नामले संरक्षण गर्दै आएको छ। तीनवटा तालसहितको क्षेत्रफल समेटेर नयाँ डिपीआर तयार हुँदैछ।

ताल क्षेत्रमा जडिबुडीको अनुसन्धान र प्रमाणिकरणका लागि प्रयोगशाला, आराम गर्न संरचना, पैदल यात्रीका लागि मार्ग र आध्यात्मिक ध्यानका लागि समेत क्षेत्र निर्माण गरिने भएको हो। वनस्पती अनुसन्धान केन्द्र, धनगढीका प्रमुख गंगादत्त भट्टले संरक्षण, पर्यापर्यटन र अध्ययन तथा अनुसन्धानका लागि वनस्पती उद्यान निर्माण गरिएको बताए। गुरुयोजना तयार पारेर काम थालिएको उनले बताए। 

देवहरीया वनस्पती उद्यानमा नेपालको वनस्पतिक विविधताको पहिचान, सङ्कलन, व्यापार, अनुसन्धान र खेती प्रविधिको विकास गर्ने गरिएको छ। नेपाल सरकारले २०१६ सालमा वनस्पती विभागको स्थापना गरेको थियो। २०५६/५७ सालबाट ढाँचा परिवतर्न गरेर उद्यानमा वनपती र जडबुटीको ज्ञान र घरेलु उपयोग अभिवृद्धिको काम हुँदै आएको छ। उद्यान क्षेत्रमा सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा हुने वनस्पतका नमुनाहरु रोपिएका छन्।

ताल क्षेत्रमा तीन प्रकारका कमल लगायतका वनस्पतीहरु रहेका छन्। साथै तालमा विभिन्न जातका चराहरुसमेत छन्। ‘नेपालको आर्थिक विकासका लागि ३३ वटा जडिबुटी प्राथामिक्ताको सूचिमा छन्। हाम्रोमा १४ वटा छन,’ प्रमुख भट्टले भने। देवहरिया वनस्पती उद्यानमा सुदूरपश्चिमका वनहरुमा पाइने सबै प्रकारका जडिबुटीहरु छन्। जडिबुटीको पहिचान, संरक्षण र व्यापारका लागि नयाँ डिपीआर अनुसार भौतिक संरचना निर्माण गरिने दाबी गरिएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस