सुदूरपश्चिमको अर्थतन्त्रः वर्षेनि घट्दै प्राथमिक र द्धितीय क्षेत्रको योगदान
वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशमा प्राथमिक क्षेत्र कृषि र द्धितीय क्षेत्र उद्योगले दिने योगदान वर्षेनि घट्दै गएको छ।
प्रादेशिक कुल ग्रार्हस्थ्य उत्पादनमा प्राथमिक र द्धितीय क्षेत्रको योगदान घट्दै गएको हो। तृतीय क्षेत्रको योगदान भने बढ्दै गएको राष्ट्र बैंक धनगढीले गरेको अध्ययन प्रतिवेदनले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले प्राथमिक, द्धितीय क्षेत्र र सेवा गरी प्रमुख तीन समूहमा विभाजन गरेर तथ्यांक विश्लेषण गरेको छ।
प्राथमिक क्षेत्र अन्तर्गत कृषि, वन, खानी तथा उत्खनन् क्षेत्र, द्वितीय क्षेत्र अन्तर्गत उद्योग, विद्युत, ग्यास लगायत क्षेत्र तथा सेवा क्षेत्र अन्तर्गत थोक तथा खुद्रा व्यापार, आवास, यातायात, सञ्चार तथा घरजग्गा कारोबार लगायत सेवाहरू राखिएको छ।
वर्षेनि घट्दै प्राथमिक र द्धितीय क्षेत्रको योगदान
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशको उत्पादनमा वृह्त आर्थिक क्षेत्रको योगदान आर्थिक वर्ष २०७५/७६ मा प्राथमिक ३५ दशमलव ४, द्धितीय १५ दशमलव १ र तृतीय ४९ दशमलव ४ प्रतिशत थियो। आर्थिक वर्ष २०७६/७७ मा प्राथमिक ३५ दशमलव १, द्धितीय १३ दशमलव ८ र तृतीय ५१ दशमलव १ प्रतिशत थियो। यो नजिता आर्थिक वर्ष २०७७/७८ मा प्राथमिक ३६, द्धितीय १३ दशमलव ९ र तृतीय ५० दशमलव १ प्रतिशत देखिएको थियो।
त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा प्राथमिक ३४, द्धितीय १४ र तृतीय ५२ पुगेको थियो। यो नतिजा आर्थिक वर्ष २०७९/८० मा प्राथमिक ३२ दशमलव ७, द्धितीय १३ दशमलव २ र तृतीय ५४ दशमलव १ प्रतिशत तथा आर्थिक वर्ष २०८०/८१ मा प्राथमिक ३३ दशमलव २, द्धितीय १२ दशमलव ५ र तृतीय ५४ दशमलव ३ प्रतिशत देखिएको छ। यो सुदूरपश्चिम प्रदेशको उत्पादनमा वृह्त आर्थिक क्षेत्रको योगदानको प्रतिशत हो।
निक्षेप बढ्यो, कर्जा घट्यो
सुदूरपश्चिममा २०८० पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको कुल निक्षेप २०८० असार मसान्तको तुलनामा १ दशमलव ९१ प्रतिशतले बढेर एक खर्ब ३६ अर्ब ८३ करोड १६ लाख पुगेको छ। गत वर्षको सोही अवधीमा भने यस्तो निक्षेप शून्य दशमलव ४२ प्रतिशतले ह्रास आएको थियो।
त्यस्तै २०८० पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०८० असार मसान्तको तुलनामा ७ दशमलव २८ प्रतिशतले घटेर एक खर्ब ४० अर्ब ६६ करोड ३५ लाख पुगेको छ। अघिल्लो वर्ष सोही अवधीमा यस्तो कर्जा ६ दशमलव २७ प्रतिशतले बढेको थियो।
ऋणीतर्फको खाता १८.६३ प्रतिशतले घट्यो
२०८० पुस मसान्तसम्म निक्षेपतर्फ कुल खाता संख्या २०७९ पुस मसान्तको तुलनामा १३ दशमलव ७७ प्रतिशतले बढेर ३६ लाख ३६ हजार ५११ पुगेको छ। ऋणतर्फ कुल खाता संख्या गत पुस मसान्तको तुलनामा १८ दशमलव ६३ प्रतिशतले घटेर ८१ हजार ६७९ पुगेको छ।
२०८० पुस मसान्तसम्म विपन्न वर्गको कर्जा २०८० असार मसान्तको तुलनामा ५ दशमलव ३२ प्रतिशतले घटेर ११ अर्ब ८ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधीमा यस्तो कर्जा ४ दशमलव ३७ प्रतिशतले घटेको थियो। यसैगरी २०८० पुस मसान्तसम्म सहुलियतपूर्ण कर्जा २०८० असार मसान्तसम्मको तुलनामा ७ दशमलव ५४ प्रतिशतले बढेर १० अर्ब ४० करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधीमा यस्तो कर्जा १३ दशमलव २८ प्रतिशतले बृद्धि भएको थियो।
३ अर्ब ७५ करोड फण्ड ट्रान्सफर
सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाबाहेक अन्य नोटकोषहरुमा राष्ट्र बैंक धनगढीबाट ३ अर्ब ७५ करोड फण्ड ट्रान्सफर भएको छ। गत वर्ष २ अर्ब ९५ करोड राष्ट्र बैंक धनगढीबाट सफा नोट नोट कोषहरुमा ट्रान्सफर गर्ने काम भएको थियो। पुराना नोटहरु राष्ट्र बैंकमा ल्याएर नयाँ (सफा) नोटहरु ८ वटा वाणिज्य बैंक तथा एकवटा नेपाल बैंकमा फण्ड ट्रान्सफर हुँदै आएको छ। नयाँ नोटहरु लैजाने र पुराना नोटहरु राष्ट्र बैंकमा ल्याएर जम्मा गर्ने काम हुँदै आएको नेपाल राष्ट्र बैंक धनगढीले जनाएको छ।
जहाँ राष्ट्र बैंकको उपस्थिती हुँदैन त्यहाँ नोटकोषहरुको सुविधा दिने गरिएको छ। उताबाट पैसा ल्याउने र लैजाने भनेको फण्ड ट्रान्सफर हो। सफा नोट लैजाने र पुराना नोट राष्ट्र बैंकमा जम्मा गर्ने काम राष्ट्र बैंक र नोटकोषबिच भइरहेको हुन्छ। राष्ट्र बैंकले नयाँ अर्थात सफा नोट दिन्छ भने नोटकोषहरुबाट पुराना अर्थात लामो समय प्रयोग भइसकेका नोटहरु जम्मा हुन्छ। ती पुराना नोटहरु पनि राष्ट्र बैंकले नोटकोषहरुबाटै प्राप्त गर्छ। नोटकोषबाट प्राप्त रकमका आधारमा राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराउने गरेको छ। विशेष गरी दशैतिहारको समयमा नयाँ नोटको माग सबैभन्दा बढी हुने गरेको छ। यही मौकामा राष्ट्र बैंकले पुराना नोट लिएर नयाँ नोट उपलब्ध गराउने काम समेत गर्दै आएको छ।