सुदूर नेपाललाई विश्वसँग जोड्दै

अलैंचीको उचित मुल्य नपाउंदा किसान चिन्तित

। फोटो स्रोत ।
२०७६ जेठ ३१, ०७:२८

उचित मुल्य नपाउंदा बाग्लुङको दक्षिण जैमिनीमा लगाइएको अलैंचीले किसान चिन्तित भएका छन्। व्यावसायिकरूपमा अलैंची खेती गर्दै आएका जैमिनी–२ र ३ दमेकका किसान अलैंचीको मूल्य प्रत्येक वर्ष घट्दै गएपछि चिन्तित बनेका हुन्। 

जनचेतना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयराम छन्त्यालका अनुसार बसाइसराइका कारण जनशक्ति अभावमा बाँझो रहेको जग्गामा अलैंची खेती गर्न पाउँदा उत्साहित देखिएका किसान यतिबेला निरास बनेका छन्। केही वर्ष पहिलेसम्म केही किसानले घरमा १–२ विरुवा लगाइएकोमा राम्रो प्रतिफल दिएपछि त्यहाँका किसान व्यावसायिकरूपमा लागेका थिए। उनले भने, “व्यावसायिक रूपमा गरिएको खेतीबाट राम्रो आम्दानी हुन थालेपछि निकै उत्साही थियौं,” “तर अहिले उत्पादन राम्रो भए पनि उचित मूल्य पाउन छाडेपछि चिन्ता थपिएको छ।”

तीन वर्ष अघिसम्म प्रतिकेजी २२ सय रूपैयाँमा अलैची बेच्दै आएका जैमिनी–२ दमेकका कृषक बलीभद्र सापकोटाले प्रत्येक वर्ष अलैंचीको मूल्य घटेको बताए। छिमेकी मुलुक भारतमा प्रतिकेजी ३२ सय रूपैयाँमा बिक्री भइरहँदा आफूहरूले लगाएको अलैंचीको मूल्य घट्नुले कृषकमा समस्या उत्पन्न भएको उनले बताए ।

अलैंचीको राम्रो उत्पादन हुने देखेर पूर्वी नेपालबाट समेत दमेकमा आएर कतिपयले नर्सरी निर्माण गरेर बिक्री गरिरहेका छन्। अहिले सिंगो दमेक नै अलैंचीमय बनिसकको छ। अलैंची खेतीका लागी सुरुमा खेर गएका जमिन, सामुदायिक वनमा खेती गरिँदै आएकोमा आम्दानी राम्रो हुने थाहा पाएपछि खेतीयोग्य जमिनमा पनि अलैंचीको सुरुवात गरिएको किसानहरू बताउँछन्। दमेकमा रहेका सहकारी संस्थाहरू, निजी लगायत सामुदायिक वनमा पनि अलैंचीको खेती गरिएको अध्यक्ष छन्त्यालले बताए। अलैंची खेतीका लागि उत्तर फर्केको केही चिस्यानसहितको जमिन आवश्यक पर्ने कृषि प्राविधिकहरूले बताएका छन्। दमेकमा चिस्यानयुक्त पाखो बारी प्रसस्त रहेकाले अलैंची खेतीका लागि अति उत्तम ठाउँको रूपमा हेरिएको छ। 

महत्वपूर्ण र महंगो मसलाका रूपमा प्रयोग हुने अलैंची खास गरी भारतमा निर्यात हुने गरेको छ। अलैंचीको सुगन्धित बियाँबाट सुगन्धित औषधीय र मसलाको गुणयुक्त तेल, मिठाइ, केक, पेष्टी आदिलाई सुगन्धित बनाउन अलैंचीको तेल प्रयोग गरिने बताइन्छ। यस्तै आयुर्वे्दिक र यूनानी चिकित्सामा घाँटी दुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैंचीको प्रयोग हुने बताइएको छ।

कमेन्ट लोड गर्नुस