कैलालीमा गत वर्ष २९ किसानले पाए कृषि ऋणको ब्याजमा अनुदान
धनगढीः कैलालीमा निवेदन दिएका धेरैजसो किसानले कृषि ऋणको ब्याज अनुदान पाउन सकेका छैनन्।
आर्थिक वर्ष २०८०/८१ मा कुल ३९ जना किसानले कृषि ऋण अन्तर्गत ब्याज अनुदानका लागि निवेदन दिएका थिए। तर धेरैजसो किसानले सो सुविधा पाउन नसकेका हुन्। जबकी कृषि ऋणको ब्याज अनुदानका लागि बजेट नै विनियोजन गरिएको थियो। कृषि ज्ञान केन्द्र कैलालीमा ७ करोड बराबरको कृषि ऋणमा ब्याज अनुदानका लागि ३९ निवेदन परेका थिए। तर, २९ किसानलाई मात्र ब्याजमा अनुदान उपलब्ध गराइएको छ।
आर्थिक वर्ष २०८०/८१ मा २९ जना किसानले पाँच करोड ऋणको ब्याज अनुदान लिएका छन्। कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी श्यामराज जोशीले कृषि ऋण अनुदान कार्यक्रम सञ्चालन हुँदै आएको बताए। उनले भने, ‘३९ वटा अनुदान ग्राहीहरुले सात करोड बराबरको ऋण लिएको कागज पेस गर्नुभएको थियो। हामीले ५ करोड बराबरको ऋणको ब्याज अनुदान दिन मिल्ने रहेछ।
८ प्रतिशतका दरले हामीले १६ लाख दिएका छौ।’ सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष ३० लाख बजेट कृषि ऋणमा ब्याज अनुदानका लागि विनियोजन गरेको थियो। ब्याज अनुदान माग गर्ने किसानको सङ्ख्या धेरै भएपछि ज्ञान केन्द्रले ३० लाख थप बजेट माग गरेको थियो। कृषि ज्ञान केन्द्र कैलालीले आर्थिक वर्ष २०८०/८१ मा १५ लाख ९७ हजार रुपैयाँ ब्याज अनुदानका लागि दिएको छ।
गत आर्थिक वर्ष ४४ लाख रुपैयाँ कृषि ऋणको ब्याज अनुदानको बजेट खर्च हुन सकेको छैन्। जोशीले भने, ‘निवेदनको सङ्ख्या धेरै भयो। अनुदानको रकम कम हुने देखिएपछि थप मागेका थियौ। ६० लाख बजेट कायम भएको थियो। पछि किसानहरु आउनुभएन।’ सुदूरपश्चिम प्रदेश सरकारले कृषि ऋणमा ८ प्रतिशतसम्म ब्याजमा अनुदान दिने गरेको छ।
बैँक तथा वित्तिय संस्थाहरुको कागजका आधारमा किसानको ब्याज प्रदेश सरकारले तिर्ने गरेको छ। तर, कैलालीमा निवेदन दिने अधिकांश किसानले कृषि ऋणको व्याजमा अनुदान पाएका छैनन्। कैलालीका किसानले केरा, तरकारी, सुन्तला, जुनार, अदुवा, धान, गहुँ, मकै, आलु, हजारी फूल, च्याउ, ड्रागन फ्रुट, गड्यौला पालन, बिउ उत्पादन तथा मसलाबालीको प्रशोधनका लागि बैंक मार्फत ऋण लिने गरेका छन्। किसानले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको ८ प्रतिशतसम्म ब्याज सुदूरपश्चिम सरकारले तिर्ने गरेको छ।