सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवाहरु हावाहुरी पीडितका घर पुनः निर्माणमा सक्रिय, सरकारको राहत घोषणामै सीमित

२०७६ जेठ ३०, १२:३७ खबर संवाददाता

कैलाली-कञ्चनपुरका हावाहुरी पीडितका लागि स्थानीय र प्रदेश सरकारले घोषणा गरेको राहत घोषणामै सीमित भएको छ। हावाहुरीको एक हप्ता बितेपनि सुदूरपश्चिम प्रदेश सरकार र कैलाली कञ्चनपुरका स्थानीय तहले पीडितलाई दिने भनिएको राहत घोषणामै सीमित भएको हो। राहातका नाममा त्रिपाल समेत नपाएको गुनासोका बिच हावाहुरी पीडितले खुला आकाश मुनी दैनिक कष्टकर रुपमा  बिताईरहेका छन्। हावाहुरीले घरको छानो उडाएपछि विस्थापीत भएकाहरु सरकारले घोषणा गरेको राहतको पर्खाइमा बसे पनि  घोषित राहत वितरणमा भने ढिलाई भएको हो।

सुदूरपश्चिम प्रदेश सरकारको जेठ २६ मा बसेको मन्त्रीपरिषद् बैठकले  हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई राहत स्वरुप एक लाख ५० हजार, पूर्ण रुपमा घर क्षती भएकालाई २० हजार र आशिंक क्षतीको हकमा १० हजार राहात दिने तथा घाईतेहरुको उपचारमा सहयोग गर्ने निर्णय गरेको थियो। तर निर्णय गरेको चार दिन बितिसक्दा समेत आवश्यक प्रक्रिया अगाडी बढेको छैन्।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुसंग क्षतीको विवरण माग गरेको जनाएको छ। मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीले विवरण प्राप्त नभएकाले राहत वितरणको प्रक्रिया सुरु गर्न नसकिएको बताए। उनले विवरण प्राप्त भएपछि हावाहुरी पीडितलाई राहत वितरण गरिने जानकारी दिए। यस्तै स्थानीय सरकारले पनि हावाहुरी पीडितलाई राहत दिने घोषणा गरेपनि वितरण गरिएको छैन्। आर्थिक अभावमा जस्ता पाता खरिद गर्ने हैसियत पनि नभएका अधिकांश पीडितहरु खुला आकाशमुनी बसेका छन्। 

युवाहरु पीडितका घर पुनः निर्माणमा सक्रिय 

सरकारले घोषणा गरेको राहत घोषणामै सीमित भएका बेला धनगढीका युवाहरु भने पीडितको घाउमा मलम लगाउन सक्रिय भएका छन्। सरकारको नेतृत्व गरिरहेको नेकपा सम्बद्ध भातृ संघसंगठन, साझा विवेकशिल पार्टीको अभियान विभागका युवाहरु हावाहुरीले क्षती पु¥याएका घर पुनः निर्माणमा सक्रिय भएका छन्। उनीहरुले सबैभन्दा बढि प्रभावित भएको धनगढी उप–महागरपालिकाका वस्तीमा पुगेर पुनः निर्माणको काम जारी राखेका छन्। युवाहरुले विगत चार दिन यता हावाहुरी पीडितका १० वटा घर पुनः निर्माण गरेको जनाएका छन्।

कैलाली बहुमुखी क्याम्पसका स्ववीयु सभापति समेत  रहेका नेकपाका विद्यार्थी नेता चुडामणी भट्टले वडा नम्बर १२ का विभिन्न वस्तीमा चार दिनको अवधीमा ८ घर पुनः निर्माण गरेको बताए। उनले विभिन्न क्षेत्रबाट आर्थिक संकलन गरेर छानो उडाएका ८ घर  जस्ता पाताले छाएको जानकारी दिए।

यस्तै साझा विवेकशिल पार्टी कैलालीको अभियान विभागले पनि २ वटा घर पुनः निर्माण गरेको जनाएको छ। अभियान विभाग प्रमुख चुन्नु केसीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ को भन्सार रोड र वडा नम्बर १५ मा गरेर दुईवटा घर पुनः निर्माण गरेको जानकारी दिए। युवाहरुले आज पनि हावाहुरी पीडितका घर पुनः निर्माणको काम जारी राखिएको बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस