सुदूर नेपाललाई विश्वसँग जोड्दै

सतप्रतिशत अनुदान दिँदा पनि कृषि बिमा गर्न कैलालीका किसान अनिच्छुक

२०८१ भदौ २, ०६:४६ कमल सावद

धनगढीः सुदूरपश्चिम सरकारले गत आर्थिक वर्षमा कृषि बिमामा अनुदान कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र कैलालीलाई ६ लाख रुपैयाँ बजेट दिएको थियो।

कृषि ज्ञान केन्द्र कैलालीमा ३७ जना किसानले मात्र कृषि बिमा अनुदानका लागि निवेदन दिएका थिए। तीमध्ये ३५ जनाले कृषि बिमामा अनुदान पाएका छन्। नेपाल सरकारको ८० प्रतिशत र सुदूरपश्चिम सरकारले २० प्रतिशत बिमामा अनुदान दिने गरेको छ। सतप्रतिशत अनुदान दिँदा पनि कृषि बिमाप्रति किसानको आकर्षण बढ्न सकेको छैन्।

कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी श्यामराज जोशीले सतप्रतिशत सरकारले बिमामा अनुदान दिने भएपनि किसानको सङ्ख्या नबढेको बताए। उनले भने, ‘कृषि बिमामा किसानको लगानी नै लाग्दैन। क्षति भएपछि टाउकोमा हाट राखेर रुनुबाहेक उपाया हुँदैन। ८० प्रतिशत संघ सरकारले अनुदान दिने गरेको छ।

२० प्रतिशत प्रदेश सरकारले दिन्छ। बिमामा किसानको रकम लाग्दैन। तर, किसानको चाँसो छैन। कैलालीमा केराको बिमा गर्ने चलन भने सुरु भएको छ।’ कैलालीमा ३५ किसानले गत वर्ष २६ लाख ३० हजार पाँच सय ८२ रुपैयाँ ४७ पैसा बिमा प्रिमियम शुल्क तिरेका छन्। तर, कृषि बिमा गर्ने किसानको सङ्ख्या निकै कम देखिएको छ।

सङ्घीय सरकारको ८० प्रतिशत र प्रदेश सरकारको २० प्रतिशत गरेरे कृषि बिमामा सतप्रतिशत अनुदानको व्यवस्था गरिएको भएपनि अधिकांश किसानले बिमा गरेका छैनन्। कृषि बाली तथा तरकारी, केरा खेती, बाख्रा पालन, कुखुरा पालन लगायतको बिमा गर्न अनुदानको व्यवस्था छ। ‘बिमा सबैमा छ। बिमाको प्रकृति फरक छ।

पहाडमा मौसम अनुसारको बिमा गरिन्छ। क्षेत्रफलका आधारमा पनि बिमा गरिन्छ,’ जोशीले भने। कैलालीमा केरा खेतीको बिमा गर्ने प्रचलन भने सुरु भएको छ। जिल्लामा ३५ जना किसानले आर्थिक वर्ष २०८०/८१ मा बिमा गरेकामा सबै केरा किसानहरु हुन्। केरा जिनाइनको ४३ दशमलव ७४ हेक्टर, केरा बिलीयामको सात दशमलव ४६ हेक्टर र ड्रागन फ्रूटको शून्य दशमलव ६७ हेक्टर बिमा गरिएको छ।

गत वर्ष ६ लाख प्रदेश सरकारबाट अनुदानका लागि विनियोजन गरिएकोमा ५ लाख ७९ हजार ६ सय २२ रुपैयाँ खर्च भएको छ। आर्थिक वर्ष २०७९/८० मा तीन लाख ६७ हजार ५८ रुपैयाँ मात्र बजेट विनियोजन गरिएको थियो। कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी श्यामराज जोशीले बिमा पनि व्यवसाय भएको बताए। जोशीले भने, ‘सुदूरपश्चिममा ठुलो क्षेत्रफलमा खेती हुँदैन।

स–सानो क्षेत्रफलमा गर्ने गरिएको छ। तर, बिमा कम्पनीहरुले स–सानो टुक्रा–काक्री क्षेत्रको बिमा गर्न मान्दैनन।’ कैलालीमा ५१ दशमलव ८७ हेक्टर क्षेत्रफल केरा खेतीको बिमा गरिएको छ। आर्थिक वर्ष २०७९/८० को तुलनामा १६ दशमलव ६३ प्रतिशतले केरा खेतीको क्षेत्रफल घटेको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस