कैलालीमा २२ हजार हेक्टर वन क्षेत्र मासियो
धनगढीः कैलालीमा वन अतिक्रमण बढ्दै गएको छ।
सबैभन्दा बढी वन क्षेत्र भएको कैलालीमा अतिक्रमणको समस्या पनि बढ्दै गएको सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्टले बताएका छन्। कैलालीमा मात्रै २२ हजार हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमण भएको उनले बताएका हुन्। अतिक्रमण बढेसँगै नियन्त्रणका प्रयासलाई पनि तीव्रता दिइएको उनको भनाई छ।
गत आर्थिक वर्षमा कैलालीमा चार सय बढी हेक्टर अतिक्रमित वन क्षेत्र खाली गरिएको डिभिजन वन कार्यालयले जनाएको छ। जिल्लामा दुईवटा डिभिजन वन कार्यालयअन्तर्गत वनको संरक्षण र व्यवस्थापन हुँदै आएको छ। पहलमानपुर डिभिजन वन कार्यालय अन्तर्गतको चार सय १६ हेक्टर अतिक्रमण क्षेत्र खाली गराइएको कार्यालयका डिभिजनल वन अधिकृत रामबिचारी ठाकुरले बताएका छन्।
भजनी नगरपालिका–७ मा रहेको पुरैना तालको तीन सय ८१ हेक्टर जमिन खाली गराएर ड्याम निर्माण गरिएको उनले बताएका हुन्। भजनी नगरपालिका–१ मा रहेको मोहोन्याल, पशुपति र वनदेवी सामुदायिक वन, वडा नम्बर ९ स्थित सयपत्री र लौकाहा भौकाहा सामुदायिक वनमा हटरा बनाइएको र खनजोत गरेको ३३ दशमलव ९ हेक्टर वन क्षेत्र खाली गराइएको ठाकुरले बताएका छन्।
सो क्षेत्रमा अतिक्रमण हटाएर वृक्षारोपण गरिएको उनले बताएका हुन्। घोडाघोडी नगरपालिका–२ स्थित मोहोन्याल सामुदायिक वन, लम्किचुहा नगरपालिका–१ स्थित जनकल्याण सामुदायिक वनभित्र बनाइएका भौतिक संरचनाहरू पनि भत्काइएको छ। डिभिजन वन कार्यालय कैलाली अन्तर्गत ७३ हेक्टर क्षेत्रफलमा अतिक्रमण हटाइएको डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले बताएका छन्।
अतिक्रमण हटाइएको ४३ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिसकिएको छ भने बाँकी क्षेत्रमा समेत वृक्षारोपणको तयारी भइरहेको उनले बताएका हुन्। जिल्लामा विभिन्न बहानामा वन क्षेत्र अतिक्रमण हुने गरेको छ। वन क्षेत्रको भोगाधिकार नलिएर विभिन्न सङ्घसंस्था, स्थानीय पालिका, वडा कार्यालयलगायत सरकारी कार्यालयका भवन, मन्दिर, पार्किङस्थल, अस्थायी बजार वन क्षेत्रमा बनाइने गरेकाले पनि वन क्षेत्र अतिक्रमणमा पर्ने गरेको छ।
जिल्लाको चुरे क्षेत्र हुँदै भारतको दुधुवा नेसनल पार्कलाई जोड्ने अन्तर्राष्ट्रिय महत्वको वसन्ता जैविक मार्गसमेत अतिक्रमणको उच्च चपेटामा परेको डिभिजनल वन अधिकृत कँडेलले बताएका छन्। सीमावर्ती क्षेत्रमा पर्ने जिल्लाको कैलारी गाउँपालिका र भजनी नगरपालिकाको हुलाकी राजमार्ग आसपासमा पर्ने वसन्ता वन क्षेत्र बर्सेनि बाढीपिडितका साथै विभिन्न बहानामा अतिक्रमणको चपेटामा पर्दै आएको छ।