कैलालीको धनगढीमा २२ वर्षदेखि दौडिदै ६० वर्षीय पनेरु
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–५ का महन्तराज पनेरू नियमित दौडिन्छन्।
पनेरू फेन्सी कर्नर धनगढीका सञ्चालक समेत रहेका उनी धनगढीको सडकमा एकाबिहानै दौडिरहेका देखिन्छन्। जाडो होस् या गर्मी गन्जी र कट्टुमा दौडिरहने पनेरू हरेक दिन १० किलोमिटर भन्दा बढी दौडिन्छ्न्। विद्यालय उमेरमा एथलेटिक्सका खेलाडी पनेरूले व्यवसाय सुरू गरेदेखि दौडिन थालेको बताएका छन्।
दिनभर पसल चलाउने उनी हरेक दिन विहान ४ः३० मा उठेर दौडिन्छन्। ६० वर्षीय पनेरू नियमित रुपमा दौडिने गरेका छन्। झरी परोस् या हुस्सु पनेरूले दौड्न सुरू गरेको दिनदेखि आजसम्म एक दिन पनि आफ्नो समय तालिका प्रभावित हुन दिएका छैनन्। पनेरूलाई दौडमा जित्न तन्नेरी समेत सक्दैनन्।
२२ वर्षदेखि दौडिदै पनेरू
२०५९ सालदेखि पनेरू नियमित रुपमा दौड्न थालेका छन्। पसल सुरू गरेपछि दिनभर पसलमा काम गर्नुपर्दा शरीर मोटाएर काम गर्न असजिलो हुने अनुभव हुन थालेपछि बिहान ४ बजे उठेर दौड्न थालेको उनले बताए। विद्यालय पढ्दा एथलेटिक्सको खेलाडी भएकाले अन्य व्यायामभन्दा दौडिने कुरा मनमा आएको उनी बताउँछन्। उनले भने, ‘मलाई दैनिक दौड्न थालेको २२ वर्ष भयो।
दिनभर पसलमा काम गर्नुपर्ने र कसरतको अभावमा शरीरमा समस्या आउला जस्तो लागेर दौड्न थालेको हुँ। दौड्न थालेको दिनदेखि एक दिन पनि तालिका अवरुद्ध हुन दिएको छैन। नियमन दौड्दा स्वस्थ्य छु।’ कोरोना महामारीको समयमा लकडाउन लागेको समयमा समेत पनेरूले दौडिन छोडेनन्।
उनले भने, ‘कोरोनाको लकडाउनमा समेत मैले दौड्न छोडेन। प्रहरीले हप्काउथे तर मैले दौड्न पाएन भने बिरामी हुन्छु भनेकाले पछि दौड्न दिन थाले। झरी परोस् या गर्मी होस्, हुस्सु लागोस् या शितलहर चलोस् मैले दौडिन छोडेको छैन।’
अहिलेसम्म औषधी खानु परेको छैन
खानपिन तथा अन्य कारणले अहिले ४० वर्ष नपुग्दै व्यक्तिले औषधी सेवन गर्नुपर्ने, बारम्बार बिरामी परेर अस्पताल जानुपर्ने अवस्था छ। तर, पनेरूले भने अहिलेसम्म डाक्टर कहाँ जचाँउनु र औषधी खानु परेको छैन। शरीरमा कुनै पनि स्वास्थ्य समस्या नरहेको बताउने उनी अरुलाई पनि नित्य व्यायाम गरेर स्वस्थ्य हुने सुझाव दिन्छन्। ‘मैले ६० वर्ष हुँदासम्म डाक्टर कहाँ जानु र औषधि खानु परेको छैन।
मलाई कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन’, उनले भने, ‘हरेक दिन अढाई घण्टा पसिना खलखली बग्ने गरी दौडिनाले नै म स्वस्थ भएको हुँ। अरुलाई पनि व्यायाम गर्न दौडिनुपर्ने सल्लाह दिने गरेको छु।’ धनगढीमा पनेरूलाई देखेर उनकै सल्लाह मानेर नियमित दौडिनेको संख्या बढ्दै गएको छ। बाटोमा आवाज निकाल्दै दौडिने पनेरूलाई धनगढीमा ‘दौडिने मान्छे’ भनेर सबैले चिनेका छन्।
दौँतरीले नै चिन्न सक्दैनन्
नियमित दौडेर शरीर र स्वास्थ्यलाई तन्दुरुस्त राखेकाले ६० वर्षीय पनेरू तन्नेरी झै देखिन्छन्। उनलाई ६० वर्ष भयो होला भनेर अनुमान गर्न कसैले सक्दैनन्। पनेरूलाई उनकै दौँतरीले समेत चिन्न सक्दैनन्। उनले भने, ‘मलाई आजकल दौँतरीले समेत चिन्न सक्दैनन्। उनीहरू भुँडी लागेको, कुनै न कुनै स्वास्थ्य समस्याबाट पीडित छन् तर मैले व्यायाम गर्न एक दिन पनि नछुटाउदा शरीर चुस्त दुरुस्त छ। त्यसैले पुरानो साथी या आफ्नै दौँतरी मलाई सितिमिति चिन्न सक्दैनन्।’
धनगढीमा हुने हरेक म्याराथनमा भाग लिन्छन्
पनेरू मर्निङ वाक गर्ने भन्दै साथीहरूसँग गफिदै हिड्ने गर्दैनन्। उनी एकनासले दौडिन्छ्न् र हरेक दिन १० किलोमिटरभन्दा बढी दुरी पार गर्छन्। जसले गर्दा उनलाई मै हुँ भन्ने तन्नेरी समेत दौडमा पराजित गर्न सक्दैनन्। धनगढीमा आयोजना हुने म्याराथन प्रतियोगितामा पनेरू हरेक वर्ष भाग लिन्छन्। एक पटक उनी दोस्रो भएका छन् भने अन्य पटक टप १० जना भित्र दौड पूरा गर्छन्।
म्याराथनमा व्यावसायिक खेलाडी आउने भएकाले एक पटक बाहेक पहिलो, दोस्रो हुन भने उनले नसकेको बताए। अन्य कुरामा सम्झौता गर्न सक्ने तर नियमित दौडिने तालिका, समय र दुरीमा भने पनेरू सम्झौता गर्दैनन्। उनी स्वास्थ्य नै धन भएकाले सबै उमेर समूहका व्यक्तिले नित्य व्यायाम गर्नुपर्ने मत राख्छन्। सबै व्यायाममा दौडिन सजिलो र कुनै शुल्क नलाग्ने भएकाले नियमित बिहान दौडिन पनेरूले सबैलाई सुझाव दिएका छन्।