एमालेका नेताले ठेक्का पाएको धनगढी–पुनर्वास ३३ केभीको काम अलपत्र
धनगढीः धनगढी–पुनर्वास ३३ केभी विद्युत प्रसारण लाइन विस्तारका लागि २०८० वैशाख ८ गते सम्झौता भयो।
तारुपारे निर्माण सेवाले २०८० कात्तिक ७ गतेभित्र १४ दशमलव ५ किलोमिटर लामो विद्युत प्रसारण लाइन विस्तारको काम पूरा गर्नुपर्ने सम्झौता गरिएको छ। विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय, अत्तरियाले तीन सय ४० पोल र आवश्यक तारसमेत निर्माण कम्पनीलाई दिएको छ। तर, निर्माण कम्पनीले २२५ वटा मात्र पोल गाडेको छ। पोलहरुमा तार तान्ने काम अझै सुरु भएको छैन।
नेपाल विद्युत प्राधिकरण, प्रादेशिक कार्यालयका प्रमुख जंगबहादुर चन्दले एक वर्षदेखि काम ठप्प रहेको बताए। उनले हार्डवेयरका सामान निर्माण कम्पनीले खरिद गर्न नसकेको बताए। उनले भने, ‘हार्डवेयर, च्यानल लगायतका सामान ल्याएको छैन। पोल र तार हामीले दिएका हौ। तर, ठेकेदारले हार्डवेयरका सामान खरिद गर्न नसकेका कारण काम रोकिएको छ।’
नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका पूर्व नगर प्रमुख गोविन्दबहादुर पुन सञ्चालक रहेको निर्माण कम्पनीले धनगढी–पुनर्वास ३३ केभी विद्युत प्रसारण लाइन विस्तारको काम १६ महिनादेखि अलपत्र छ। विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रदेखि पुनर्वास बस–स्टेसनसम्म ३३ केभीको दोहोरो लाइन विस्तारका लागि एक करोड १५ लाख ३० हजारमा सम्झौता गरिएको थियो।
निर्माण कम्पनीले हार्डवेयरका सामाग्री खरिद गर्न नसक्दा काम अलपत्र परेको दाबी गरिएको छ। तर, तारुपारे निर्माण सेवाका सञ्चालक गोविन्द पुनले बर्सातका कारण काम रोकिएको तर्क गरेका छन्। उनले भने, बर्खामा पानी हुन्छ। पानी सुक्यो भने, ‘सुरु गर्ने हो। तार तान्ने र स्टेहरु गाड्ने काम बाँकी छ।’ विद्युत प्राधिकरणले पुनर्वास क्षेत्रमा १३ मिटर उचाइका पोलमा दोहोरो विद्युत लाइन विस्तारको योजना बनाएको थियो।
पुनर्वास क्षेत्रमा विद्युतको समस्या समाधान गर्न सव–स्टेशन निर्माण र दोहोरो लाइन विस्तारको योजना निर्माण कम्पनीले अलपत्र पारेको छ। निर्माण कम्पनीले सम्झौता अवधिमा काम गर्न नसकेकाले सम्झौता रद्द गर्ने तयारीमा प्राधिकरण छ। नेपाल विद्युत प्राधिकरण, प्रादेशिक कार्यालयका प्रमुख चन्दले ७/८ महिनादेखि निर्माण कम्पनी सम्पर्कमा नरहेको बताए। उनले भने, ‘तार तान्ने काम सुरु भएको छैन। हार्डवेयरका सामान ल्याएको छैन। ल्याउछु भन्छ, तर, ल्याउदैन। ७/८ महिना भन्दा बढी भयो, सम्पर्कमा आएको छैन।’