सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तडमा गंगा दशहरा मेलाको रौनक

२०७६ जेठ २९, ०१:४७ डीवि विष्ट

सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक छाएँको छ।  खप्तडमा शनिवार देखि गंगादशहरा मेला (जात्रा) सुरु भए संगै यस क्षेत्रमा हिन्दु धर्मालम्बी तथा पर्यटकहरुको भिड लागेपछि यस क्षेत्रमा थप रौनक छाएँको हो। प्रत्येक बर्ष जेठ शुक्ल दशमीको दिनमा गंगा दशहरा मेला लाग्ने गर्दछ। खप्तडमा रहेको त्रिबेणीमा स्नान गर्नाले मानिसहरु गरेका सबै पापहरु नाश भएर जाने धार्मिक विश्वास गरिदै आएको छ। गंगादशहराको दिन गंगाबाट ल्याएको जल वर्षभरी विग्रदैन यस तिर्थमा बहुसंख्यक हिन्दू धर्मालम्बीहरु गंगा स्नान गर्नाले मनोकाङ्क्षा पुराहुने धार्मिक बिस्वास रहेको स्थानीय पण्डित चित्रराज जोशीले बताए। 

गंगादशहराको दिन पूण्य प्राप्तीका लागि पवित्र गंगाको किनारामा अवस्थित विभिन्न तिर्थस्थलमा गई गंगा स्नान गर्ने प्रचलन समेत छ।  मेलाको अवसर पारी   गंगादशहरा मेलामा विभिन्न संघ संगठनहरुले कार्यक्रम आयोजना गरिरहेका छन्। डोटी उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आएको गंगा दशहरा मेलामा खुला पूरुष भलिवल, घोडा दौड र सुदूरकै संस्कृतिको रुपमा चिनिएको डेउडा प्रतियोगिता यस बर्ष पनि पनि आयोजना गरिएको छ। सधैका बर्ष भन्दा यस बर्ष खप्तड जाने तिर्थालु तथा पर्यटकहरुको संख्या बढेको खप्तड छान्ना गाउँपालिका ३ मेल्तडीका स्थानीय मेख बहादुर रावलले बताए। अझैपनि बझाङको बाटो हुदै आउने पर्यटकका लागी छोटो बाटो र आरामदायि यात्रा हुन्छ भन्नेबारे प्रचार प्रसार हुन सकेको छैन। 

प्रत्येक बर्ष लाग्ने गंगादशहरा मेलामा झण्डै २० हजार तीर्थालु तथा पर्यटकहरुले खप्तड पुग्ने अनुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशका पहाडका चार जिल्लाहरु बाजुरा, बझाङ्ग, अछाम र डोटीको केन्द्र बिन्दुमा पर्ने खप्तड नेपालकै सुन्दर पर्यटकीय क्षेत्रहरु मध्येको एक हो। भु-स्वर्गका रुपमा समेत बर्णन गरिएको खप्तड एक प्रकृतिको अनुपम उपहार हो।  जहाँ आँखाले नभ्याउने विशाल फाँटहरु, हिउँदमा सेताम्मे र बसन्त ऋतुमा रंगीविरंगी फूलले ढकमक्क हुने भएकाले धार्मिक हिसाबले मात्रै होईन पर्यटकिय हिसावले पनि यसको महत्व धेरै भएको स्थानीय जानकारहरु बताउछन्। 

खप्तडमा २२ पाटन र ५२ झोती रहेको खप्तडमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह (खप्तड ताल), शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, माइका थान, छिन्तेढुंगा, केदारढुंगा, डाँफेकोट, सीता पाइला, घोडादाउन पाटन, नाचन्थली, बलेमेला, पाटन जेठी बहुरानी ढुंगा, भलाउने पाटन, जस्ता धार्मिक स्थलहरुले पर्यटकका लागी आर्कषकका केन्द्र बिन्दु मानिन्छन्। पौराणिक कालमा सिद्घ तथा ऋषिमुनीहरुले तपस्या गरेको यस क्षेत्र पुराणमा समेत  ‘खेचरादी’ पर्वतका रुपमा समेत वर्णन गरिएको छ । खेचरादी पर्वतको नाम बिस्तारै खप्तड रहन गएको भन्ने जानकारहरु बताउँछन्। पौराणिक कालमा कौरव र पाण्डवको युद्घ हुँदा पाण्डवहरुले चौध वर्ष वनबास बस्दा केही समय खप्तडमा बिताएको किम्वदन्ती रहेको छ।

खप्तडमा दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट थुम्का (झोती) बनेका भन्ने पनि किम्वदन्ती रहेको छ। यस बर्ष दशहरा मेलालाई ब्यबस्थित बनाउन जाड रक्सी पूर्णरुपमा बन्देज गरिएको छ। नागरिकहरुलाई स्वस्थ्य उपचारमा सहजहोस भनि नेपाली सेनाले स्वास्थ्य शिबिरको आयोजना समेत गरिएको छ।  खप्तड क्षेत्र ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो। खप्तडमा खप्तड बाबाको आगमनपछि स्थानीयले राजा बिरेन्द्रलाई आग्रह गर्दा २०४२ सालमा खप्तडलाई राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको थियो। 
 
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस