सुदूर नेपाललाई विश्वसँग जोड्दै

भेनेजुएलाका राष्ट्रपतिद्वारा सामाजिक सञ्जाल एक्समाथि प्रतिबन्ध

२०८१ साउन २५, १०:०० खबर संवाददाता

एजेन्सीः भेनेजुएलामा पुनः राष्ट्रपति चुनावको माग भइरहेका बेला वर्तमान राष्ट्रपति निकोलस मदुरोले माइक्रो ब्लगिङ वेबसाइट एक्समाथि प्रतिबन्ध लगाएका छन्।

मदुरोले १० दिनका लागि भेनेजुएलामा एक्समाथि प्रतिबन्ध गरिने बताएका छन्। एक्सका मालिक एलन मस्कले भेनेजुएलामा दोहोर्याएर चुनाव हुनुपर्ने प्रतिक्रिया दिएपछि मदुरोले एक्सलाई ब्लक गरेका हुन्। मस्कले एक्सलाई घृणा फैलाउन प्रयोग गरेको आरोप मदुरोले लगाएका छन्।

एक्सले सामाजिक सञ्जालका सबै नियमहरूको उल्लङ्घन गरेको पनि मदुरोले भनेका थिए। आफ्ना विरोधीहरूले एक्सलाई राजनीतिक अशान्ति सृजना गर्न प्रयोग गरेको आरोप पनि मदुरोले लगाइरहेका छन्। हालै भएको निर्वाचनमा मदुरो लगातार तेस्रो पटक राष्ट्रपति निर्वाचित भएका थिए।

११ वर्षदेखि उनले त्यहाँ सत्ताको बागडोर सम्हालिरहेका छन्। तर यसपटक विपक्षी नेता र दलहरू एकजुट भएपछि मदुरोले पहिलोपटक सबैभन्दा कठिन चुनावी चुनौतीको सामना गरेका थिए। यस चुनावमा मादुरोका प्रमुख प्रतिद्वन्द्वीका रूपमा विपक्षी दलहरूले ७४ वर्षका एडमन्डो गोन्जालेज उतारेका थिए। 
 

कमेन्ट लोड गर्नुस