सुदूर नेपाललाई विश्वसँग जोड्दै

हसिना शेखका छोरा वाजेद बंगलादेशको राजनीतिमा आउने

२०८१ साउन २५, ०८:५९ खबर संवाददाता

एजेन्सीः आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेकी हसिना शेखका छोरा सजीव वाजेदले बंगलादेशको राजनीतिमा आउन आफू इच्छुक रहेको बताएका छन्।

आमाले नेतृत्व गरेको अवामी लिग पार्टीलाई बचाउन आफू राजनीतिमा आउने धारणा वाजेदले टाइम्स अफ इण्डियासँगको अन्तर्वार्तामा व्यक्त गरेका छन्। अमेरिकाको राजधानी वासिङटन डिसीमा रहेका वाजेदले टेलिफोनमार्फत दिएको अन्तर्वातामा अवामी लिग पार्टी र यसमा कार्यरत व्यक्तिहरूलाई जोगाउन राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेको बताएका हुन्।

राजनीतिमा आफ्नो आवश्यकता रहे आफू पछि नहट्ने वाजेदले बताएका छन्। राजनीति गर्ने कहिल्यै इच्छा नभएकाले अमेरिकामा बस्न पुगे पनि पछिल्लो घटनाक्रमले बंगलादेशमा नेताको आवश्यकता रहेको महसुस गरेर राजनीतिमा होमिने तयारी गरेको उनले अन्तर्वातामा उल्लेख गरेका छन्।

हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर निर्वासित भएको तेस्रो दिन बंगलादेशमा नोबल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा बिहीबार राति १७ जनाले शपथ लिएका छन्। देशभरबाट लाखौं आन्दोलनकारीहरू ढाका पुगेर प्रधानमन्त्री निवास घेर्न थालेपछि हसिना गत सोमबार देशै छाडेर भागेकी हुन्। 

कमेन्ट लोड गर्नुस