सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा मापसे गरेका चार हजार चालकलाई कारबाही

फाइल फोटो
फाइल फोटो
२०८१ साउन २४, ०५:४९ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशमा मादक पदार्थ सेवन(मापसे) गरेका झन्डै चार हजार चालकलाई कारबाही गरिएको छ। ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा ३ हजार ९१८ जनालाई मादक पदार्थ सेवन गरी सवारी चलाएको कसुरमा कारबाही गरेको हो।

एक वर्षमा सुदूरपश्चिम प्रदेशमा मादक पदार्थ सेवन गरि सवारी चलाउनेमा ५० जना ट्रक चालक, बस चालक ३० जना, जिप/कार चालक ३४५ जना, ट्याक्टर चालक २१९ जना, मोटरसाइकल चालक दुई हजार ९४७ जना र अन्य सवारी चालक ३२७ जना कारबाहीमा परेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता ट्राफिक प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले बताए।

मादक पदार्थ सेवन गर्ने र कारबाहीमा पर्नेमा मोटरसाइकल चालकको सङ्ख्या सबैभन्दा बढी छ। गत आर्थिक वर्षको असोज महिनामा मापसे गरेर सबैभन्दा बढी ३४५ मोटरसाइकल चालक कारबाहीमा परेका छन्। सबभन्दा कम पुस महिनामा मापसे गरेका १३२ जना मोटरसाइकल कारबाहीमा परेको ट्राफिक प्रहरीको तथ्याङ्क छ। गत आर्थिक वर्षको साउनमा २४० जना, भदौमा २१०, कात्तिकमा २८५ जना, मंसिरमा २७४, माघमा २११ जना, चैतमा २८८ जना, बैशाखमा १८२ जना, जेठमा २७८ र असारमा २१३ जना मोटरसाइकल चालक मापसे गरेको कसुरमा कारबाहीमा परेका हुन्।

ट्राफिक प्रहरीले एक वर्षमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरूबाट ३९ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने जोखिम उच्च हुने भएकाले सवारी चालकको मापसे परीक्षण हुने गरेको छ। मापसे परीक्षणका अतिरिक्त सवारी दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा टाइम कार्ड लागु गरिएको छ भने धनगढीको ६ लेन सडक, हुलाकी सडक र महेन्द्र राजमार्गमा सवारी साधनको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा तोकिएको ट्राफिक प्रहरी प्रवक्ता उप्रेतीले बताए। ‘सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले नियमित मादक पदार्थ सेवन गरेको परीक्षण गर्ने गरेको छ,’ उनले भने, ‘सडक यातायात सुरक्षित होस् भनेर टाइम कार्ड र सवारीको अधिकतम गति तोकेका छौँ। तोकिएको भन्दा तीव्र गतिमा सवारी चलाएको पाए कारबाही हुन्छ।’

सुदूरपश्चिममा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेको कसुरमा गत आर्थिक वर्षमा ट्रक चालकहरूबाट ५० हजार, बस चालकहरूबाट ३० हजार, जिप÷कार चालकहरूबाट तीन लाख ४५ हजार, ट्याक्टर चालकहरूबाट २ लाख १९ हजार, मोटरसाइकल चालकहरूबाट २९ लाख ४७ हजार, र अन्य सवारी चालकहरूबाट तीन लाख २७ हजार राजस्व असुल गरेको तथ्याङ्क छ।

 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस