सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा उमेर नपुग्दै विवाह, १७ उजुरी प्रहरीमा दर्ता

फाइल फोटो
फाइल फोटो
२०८१ साउन २०, १०:२२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा उमेर नपुग्दै विवाह गर्नेको संख्या बढ्दै गएको छ।

उमेर नपुग्दै विवाह गरिएको भन्दै वर्षेनि प्रहरीमा समेत उजुरी पर्ने गरेका छन्। आर्थिक वर्ष २०७८/७९ मा बालविवाहका पाँचवटा उजुरी प्रहरीमा दर्ता भएका थिए। कैलालीमा एक, दार्चुलामा २, डडेल्धुरामा एक र कञ्चनपुर प्रहरीमा एक गरेर बालविवाहका पाँचवटा उजुरी दर्ता भएका छन्। त्यस्तै आर्थिक वर्ष २०७९/८० मा कैलाली प्रहरीमा २, बैतडीमा एक र कञ्चनपुर प्रहरीमा २ गरेर उमेर नपुग्दै विवाह गरिएको भन्दै पाँचवटा मुद्दा दर्ता भएका छन्।

बालविवाह वर्षेनि बढ्दो क्रममा देखिएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा बालविवाह सम्वन्धि उजुरीको संख्या बढेको छ। सो अवधिमा बाजुरा र डोटीमा एक/एक, कैलालीमा तीन तथा बैतडी र डडेल्धुरा प्रहरीमा एक/एक गरेर बालविवाहका ७ वटा उजुरी दर्ता भएका छन्। तीन वर्षको अवधिमा बालविवाह सम्वन्धि १७ उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

बालविवाह गराउनेलाई ३ देखि ५ वर्षसम्मको सजाय हुने कानुनी प्रावधान रहेको छ। सामाजिक सञ्जालको सही प्रयोग हुन नसक्दा बालविवाहका घटनाहरू बढ्दै गएको प्रहरी अधिकृतहरुको अनुभव छ। अभिभावकहरूले आफ्ना छोराछोरीलाई सामाजिक सञ्जालको सही प्रयोगबारे जानकारी दिन नसक्दा यस्तो समस्या बढ्दै छ।

मातृ तथा बाल स्वास्थ्य सम्बन्धी समस्याहरू न्यून गर्न बालविवाह रोक्नु आवश्यक रहेको अधिकारकर्मीले बताउँदै आएका छन्। बालविवाहका कारण कलिलै उमेरमा आमा बन्नेको संख्या समेत बढ्दै छ। यसले आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पर्ने चिकित्सकहरुले बताएका छन्।

कमेन्ट लोड गर्नुस