सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा गहुँको आयात दोब्बरले बढ्यो

२०८१ साउन १६, ०६:३६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा खाद्यन्न आयात गरेर उपभोग गर्नुपर्ने बाध्यता अझै हटेको छैन्।

भारतबाट वर्षेनि ठूलो परिमाणमा खाद्यन्न आयात हुने गरेको छ। कृषि उत्पादनमा संघ, प्रदेश र स्थानीय सरकारले बजेट बढाएको दाबी गर्दै आए पनि खाद्यन्न आयात भने वर्षेनि बढ्दै गएको छ। सुदूरपश्चिममा भारतबाट गहुँको आयात दोब्बरले बढेको छ। आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा गहुँको आयात दोब्बरले बढेको हो।

आर्थिक वर्ष २०७९/८० मा दुई हजार ३८३ टन गहुँ आयात भएकोमा २०८०/८१ मा ६ हजार ३७७ टन गहुँ आयात भएको छ। अघिल्लो वर्षको तुलनामा गत वर्ष तीन हजार ९९४ टन बढी गहुँ आयात गरिएको छ। जिल्ला भन्सार कार्यालय कैलालीका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार आर्थिक वर्ष २०७९/८० मा १० करोड ५० लाख रुपैयाँको गहुँ आयात भएको थियो।

आर्थिक वर्ष २०८०/८१ मा बढेर २६ करोड ३७ लाखको गहुँ आयात भएर एक करोड ३१ लाख राजस्व समेत असुली भएको छ। प्रदेशमा चामल आयात भने घटेको छ। आर्थिक वर्ष २०७९/८० मा ८ हजार ७ सय २८ टन चामल आयात भएकोमा आर्थिक वर्ष २०८०/८१ मा ६ सय १० टन मात्रै चामल आयात भएको छ।

मकै र लाहीको दाना आयात पनि घटेको छ। अघिल्लो आर्थिक वर्षमा ३३ करोड ९३ लाख रुपैयाँको ९ हजार १ सय ६३ टन मकै आयात भएकोमा गत वर्ष आधा घटेर १८ करोड ३८ लाख रुपैयाँको चार हजार ७ सय २८ टन आयात भएको छ। त्यस्तै अघिल्लो वर्ष २६ करोड ९२ लाख रुपैयाँको तीन हजार २ सय ५६ टन लाहीको दाना आयात भएकोमा गत वर्ष एक करोड ९१ लाख रुपैयाँको २ सय ६३ टन मात्रै आयात भएको छ।

कमेन्ट लोड गर्नुस