सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ जीवनका लागि मृगौलाको खोजीमा अछामका चन्द्र

२०८१ साउन १६, ११:३७ कमल सावद

धनगढीः अछामको ढकारी गाउँपालिका–१ रिमाका चन्द्र टमट्टा श्रीमती र छोरासहित भारतको राजस्थानमा काम गर्दै थिए। भारतको राजस्थानमा काम गरेर श्रीमती र छोराको हेरचाह गर्दै आएका चन्द्रले अछाममा घर निर्माण गरे।

५० हजारमा खेत समेत किने। दाजु–भाइ र परिवारका अन्य सदस्यभन्दा चन्द्रको अवस्था राम्रो थियो। राजस्थानमा काम गर्दै गर्दा उनी बिरामी भए। पेटमा कुनै समस्या नभएका चन्द्रलाई बान्ता भयो। उनी ग्यास्टिकको औषधी सेवन गर्न थाले। तर, सन्चो भएन। भारतको अहमवादको अस्पतालमा परिक्षणपछि मृगौला फेल भएको पत्ता लाग्यो।

भारतमा चिकित्सकले नेपाल जान सुझाव दिए। चन्द्रले भने, ‘भारतको राजस्थानमा थिए। बिरामी भए। बान्ता भयो। औषधी खाए। सञ्चो भएन। अहमावादमा परिक्षण गरे। औषधीले दुबै मृगौला फेल गराएको रहेछ। डाक्टरले डायलासिस गर्न भन्नुभयो र त्यसपछि नेपाल आए।’
सेतीमा २ वर्षदेखि डायलासिस गर्दै
भारतमा मृगौला फेल भएको पत्ता लागेका चन्द्र नेपाल फर्किए। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक महिनासम्म बेहोस अस्थामा मृगौलाको डायलासिस गराए। बिरामी भएपछि २ महिना अछाम बसेका चन्द्र दुई वर्षदेखि धनगढीमा छन्। उनले भने, ‘भदौमा २ वर्ष बिरामी भएको हुँदैछ। सेतीमा डाक्टरले डायलासिस गरे मात्र बाँचिन्छ भन्नुभयो। डायलासिस नगरे मरिन्छ भन्नुभयो। त्यही भएर भाडामा बसेर डायलासिस गर्दैछु।

धनगढीमा बसेको कात्तिकमा २ वर्ष हुँदैछ। एक महिना अस्पतालमा भर्ना भएको थिए।’ धनगढी उपमहानगरपालिका–१ बसन्त टोलमा मासिक दुई हजार पाँच सयको कोठा लिएका उनी डायलासिस गराउदै आएका छन्। बसन्त टोलका स्थानीयले खाद्यान्न र लत्ताकपडा सहयोग गर्दै आएका छन्। टोल विकास समितिले चन्द्रका छोरालाई निःशुल्क पढाउने भनेको छ। न्यू ऐरा बोडिङ्ग स्कलुका सञ्चालक सुरेन्द्र बोहराले माध्यामिक शिक्षासम्मको अध्यापन निःशुल्क गराउने बताए। 
आमाले मृगौला नदिएको पीडा
भारतको अहमावादका चिकित्सक र सेती प्रादेशिक अस्पताल, धनगढीका चिकित्सकले चन्द्रलाई मृगौला प्रत्यारोपण गर्न सुझाव दिने गरेका छन्। श्रीमती र बुवाले मृगौला दान गर्न परिक्षणसमेत गराए। तर, उनीहरुको मेल खाएन। आमालाई सुरुवाटै एक मृगौला दिन चन्द्रले भन्दै आएका छन्। तर, चन्द्रकी आमाले मानेकी छैनन्। उनले भने, ‘धनगढी आएपछि अछाम गए।

पहिला पनि आमालाई धनगढी बोलाएको हुँ। आउनुभएन। पछि अछाम गएर नै भने। तर, पनि मान्नु भएन। मृगौला दिएपछि मर्छु भन्नुभयो, आमाले। पहाडमा उल्टी भयो। पछि म धनगढी आए। धनगढी आउदा पनि आमालाई फोन गरे। दाजुले पनि आमालाई भन्नुभयो। मेरो रगत ए पोजेटिभ हो। बुवाको बि रहेछ। आमाले परिक्षणसमेत गर्नुभएन। भदौमा २ वर्ष डायलासिस गर्न लागेको भयो।’ उनी मृगौला दान गर्ने व्यक्तिको खोजीमा छन्। 
श्रीमती र छोराको बेहाल
चन्द्रका दुबै मृगौला फेल भएपछि श्रीमती र छोराको बेहाल भएको छ। दुई वर्षदेखि श्रीमतीले मजदुरी गर्दै आएकी छन्। दैनिक पाँच सय रुपैयाँ मजदुरीबाट आउने गरेको छ। चन्द्रलाई हप्ताको ७ सय रुपैयाँको सुइ आवश्यक पर्छ। हप्तामा दुई पटक सेती प्रादेशिक अस्पतालमा डायलासिसका लागि पुग्नुपर्छ। सेती अस्पतालमा मृगौलाको डायलासिस निःशुल्क भएपनि औषधी खरिद गर्नुपर्ने बाध्यता छ।

तीन हजार नहुँदा प्रयोगशाला परीक्षण रोकिएको उनको दुखेसो छ। उनले भने, ‘खानका लागि चामल थिएन। टोल विकास समितिले एक कट्टा चामल दिएको हो। दाउरामा खाना पकाउदै आएका थियौ। पसलवालाले सिलिण्डर दिनुभयो। ग्याँसको पैसा दिन्छौ। सिलिण्डरको दिएका छैनौ। श्रीमतीको मजदुरी गरेको पैसाले कसरी खर्च चलाउनु?’ 
ससुरालीको तीन लाख ऋण
चन्द्र टमट्टका एक/एक दाइ र भाइ छन्। आमा र बुवा पनि कामको खोजीमा भारतमा छन्। तर, घर परिवारबाट चन्द्रले सहयोग नपाएको गुनासो गरेका छन्। भारतमा काम गरेर जोडिएको घर पनि पहिरोले लगेको उनको गुनासो छ। उनको उपचारका लागि ससुरालीले सहयोग गरेका थिए। झण्डै तीन लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको चन्द्रले बताए। उनकी श्रीमतीले भनिन, ‘मेरो माइतीको ऋण छ। पाँच लाखसम्म दिनुभएको हो।

तीन लाख अझै दिनु छ। अहिलेसम्म माग्नु भएको छैन। तिर्नुपर्ने नै हो। मेरो जमिन, घर केही पनि छैन। मैले ५० हजारमा किनेको जमिन पनि बिक्री गरिसकेकी छु। पुरानो कुनै सम्पति छैन। पहाडको घर पनि पहिरोले बगाएको छ।’ दुबै मृगौला फेल भएका चन्द्रलाई श्रीमती र चार वर्षका छोराको चिन्ता छ। श्रीमती र छोराको अविभावक रहेका चन्द्र मृगौला नपाएर मरेपछि श्रीमती र छोरालाई बाँच्न समस्या हुने भन्दै चिन्तामा छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस