गोदावरीको १० नम्बर वडामा गरिएको तालाबन्दी खोलियो
धनगढीः कैलालीको गोदावरी नगरपालिका–१० को वडा कार्यालयमा लगाइएको ताला खोलिएको छ।
स्थानीयहरुले विद्यालय मर्जको विषयमा सर्वोच्चको आदेश पालनाको माग गर्दै वडा कार्यालयमा गरिएको ताला खोलिएको हो। गोदावरी नगरपालिकाकाले २०८० फागुन ३० गते र नगर शिक्षा समितिले २०८१ जेठ ३२ गते वडा नम्बर १० को शंकर आधारभूत विद्यालयलाई घण्टेश्वर आधारभूत विद्यालयमा समायोजन गर्ने निर्णय गरिएको थियो।
विद्यालय मर्ज रोक्न माग गर्दै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामदत्त भण्डारीले असार २८ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए। उक्त रिटमाथि सर्वोच्चले असार ३१ गते अन्तरिम आदेश दिएको थियो।
सर्वोच्च अदालतले नगरको उक्त निर्णयमा शिक्षा ऐन २०२८ को दफा १५, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८ समेतको प्रक्रिया र कार्यविधिको त्रुटि रहेको भन्दै निवेदनको टुङ्गो नलाग्दा सम्म नगरपालिका र नगर शिक्षा समितिको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। उक्त आदेशको पालना गर्दै विद्यालय सञ्चालन हुनुपर्ने माग गरेका स्थानीयहरुले तालाबन्दी गरेका थिए। तालाबन्दीमा सहभागी भूवन भट्टले सेवाग्राहीलाई समस्या नहोस भनेर तालाबन्दी खोल्न सहमति भएको जनाए।