कैलालीको गौरीगंगामा सडक कालोपत्र गरिएको २५ दिनमै बाढीले बगायो
धनगढीः कैलालीको गौरीगंगा नगरपालिका–६ रानीफाँटामा १६ सय मिटर सडक कालोपत्रका लागि पूर्वाधार विकास कार्यालय, कैलालीले २ करोडको स्टीमेट तयार पारेको थियो। पूर्वाधार विकास कार्यालय, कैलाली र जी एण्ड जे निर्माण सेवाबिच २०७८ सालमा रानीफाँटाको सडक कालोपत्रका लागि सम्झौता भयो।
दानबहादुर साउँद सञ्चालक रहेको सो निर्माण सेवाले ९३ लाखमा १६ सय मिटर सडक कालोपत्रका लागि सम्झौता गरेको हो। निर्माण कम्पनीले सम्झौताको मितिमा काम गर्न सकेन। दोस्रो निर्माण कम्पनीमार्फत २०८१ असार १२ गते रानीफाँटाको सडक कालोपत्रको काम पूरा भयो। तर, शुक्रवार आएको बाढीले कालोपत्र सडक बगाएको छ। स्थानीय टेकबहादुर धामीले शुक्रवारको बाढीले सडकमा क्षति गरेको बताए। उनले भने, ‘बाढीले रोड भत्कियो। बिहान ६ बजेदेखि वर्षा भयो। बाढीले खेत र घरको अन्नमा समेत क्षति गरेको छ।’ कालोपत्र गरिएको सडक २५ दिनमै बाढीले बगाएको छ।
गौरीगंगा नगरपालिका–६ रानीफाँटामा कालोपत्र गरिएको १६ सय मिटर सडकमा धेरै ठाउँमा सडक बगाएको छ भने केही क्षेत्रको कालोपत्र भत्किएको छ। शुक्रवारको बाढीले सडकसँगै खानेपानी आयोजनाको पर्खाल, स्थानीयका खेत तथा घरको अन्नमासमेत क्षति पुगाएको छ। रानीफाँटामा रहेको खानेपानीको आयोजनादेखि दक्षिण पूर्वी क्षेत्रको सडकमा बाढीले ठुलो क्षति पुगाएको छ। अर्का स्थानीय महेश्वरी खड्काले सबै क्षेत्रमा क्षति गरेको बताइन्। नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनदेखि १६ सय मिटर सडक प्रदेश सरकारमार्फत निर्माण कम्पनीले तीन वर्षपछि कालोपत्र गरेको थियो। सडक कालोपत्र गरिएको २५ दिनमै बगाएपछि स्थानीय निराश बनेका छन्।
पूर्वाधार विकास कार्यालयले भने निर्माण कम्पनीबाटै कालोपत्र सडक मर्मत गराउने तर्क गरेको छ। पूर्वाधार कार्यालय, कैलालीका प्रमुख रामचन्द्र खत्रीले निर्माण कम्पनीले कालोपत्र गरिएको सडक मर्मत गर्ने बताए।