सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनसुन सुरु भएसँगै कैलालीका नदीमा देखिन थाले डल्फिन

२०८१ साउन ५, ०४:३७ खबर संवाददाता

धनगढीः कैलालीका नदीमा दुर्लभ डल्फिन देखिन थालेको छ। नदीमा जलस्तर बढेसंगै मोहना, पथरैया, कांडा लगायतका नदीमा डल्फिन देखिन थालेका हुन्।

नदीमा हरेक मनसुनमा डल्फिन देखिने गर्दछ। यो वर्ष अहिले कम्तीमा ठुला र सानागरी १२।१४ वटा डल्फिन देखिएको स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए। टीकापुर नगरपालिका–७ बैदीस्थित ढुङ्गाना टोल नजिकै रहेको पथरैया र काडा नदीको दोभानमा यतिबेला डल्फिन देखिएको बताए।

गतवर्ष यहाँको नदीमा असार दोस्रो साताबाट डल्फिन देखिन थालेका थिए। तर, यो वर्ष मनसुन ढिलो गरी सक्रिय भएकाले केही ढिलो गरी कैलालीको नदीहरुमा डल्फिन देखिन थालेको हो। ढुङ्गानाका अनुसार मनसुनभरि नै यहाँको नदीमा डल्फिन हेर्न सकिन्छ।

नदीमा जलस्तर बढ्दै गएपछि कर्णाली नदीको रैथाने र भारतको घांङरा नदीबाट जलबिहारका लागि डल्फिन आउने गरेको बताइन्छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसीएन) ले यो प्रजातिलाई लोपोन्मुख भन्दै रातो सूचीमा राखेको छ। विश्वमै दुर्लभ यो जलप्राणी कैलालीको नदीहरुमा बच्चा हुर्काउनका लागि आउने गरेको स्थानीय संरक्षणकर्मीहरु बताउँछन्।

गङ्गेटिक डल्फिन स्वच्छ पानीमा बस्न र बिहार गर्न रुचाउँछन्। माछालगायतका जलीय जीव डल्फिनको आहारा हुन। कैलालीमा झन्डै तीन दशकदेखि स्थानीयस्तरबाट डल्फिनको संरक्षण हुँदै आएको छ। भोजराज श्रेष्ठको अगुवाइमा संरक्षण कार्य हुँदै आएको हो।

प्राणीविद् मुकेशकुमार चालिसेको अगुवाइ र स्थानीयको सहभागितामा यहाँको नदीमा दुई पटक डल्फिन गणना गरिएको छ। सन् २०१६ मा गणना गर्दा वयस्क र बच्चा गरी ६२ र २०१८ को गणनामा ३७ वटा डल्फिन फेला परेको अभिलेखमा उल्लेख गरिएको छ।

कैलालीका नदीहरुमा डल्फिलका लागि आहाराको कमी हुुँदै गएर डल्फिनलाई असर परेको बताइन्छ। डल्फिनको आहारा प्रजातिमा ह्रास आउनुको मुख्य कारण मानवीय गतिविधि नै रहेको छ। महाजाल हालेर माछा मार्ने, खेतमा अत्यधिक विषादी हाल्ने लगायतको कारणले डल्फिनलाई असर पुगेको स्थानीय संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए।
 

कमेन्ट लोड गर्नुस