धनगढीको ६ लेनमा २ हजार ८१५ मिटर लामो नाली निर्माण गर्न सम्झौता
धनगढी : धनगढीको डुबान समस्या समाधानका लागि ६ लेन सडकमा नाली निर्माण गर्न सम्झौता भएको छ। धनगढी उपमहानगरपालिका भित्रको ६ लेन सडकमा २ हजार ८२५ मिटर लामो नाली निर्माण गर्न २०८१ असार २० गते सम्झौता भएको हो।
सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढीले चौराहदेखि मोहना नदीसम्म दोहोरो २ मिटर गहिरो र २ मिटर चौडा नाली निर्माणका लागि सम्झौता गरेको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकको पूर्वी क्षेत्रमा एक हजार तीन सय ६५ मिटर र पश्चिम क्षेत्रमा एक हजार चार सय ५० मिटर लामो नाली निर्माणका लागि सम्झौता गरिएको हो। पूर्वमा ११ करोड २० लाख र पश्चिममा १२ करोडको लागतमा नाली निर्माणका लागि स्टीमेट भएको थियो। तर, सात करोड ४४ लाख ७९ हजार ८९६ रुपैयाँ ८३ पैसा कबोल अंक राखेको एमबी/शुभलक्ष्मी/आदर्श जेभी र ६ करोड पाँच लाख एक हजार ८३२ रुपैयाँ ५२ पैसा कबोल अंक राखेको सनराइज/चन्द्र विकाश/मस्टा जेभी, धनगढीसँग नाली निर्माणका लागि सम्झौता गरिएको छ।
मोहनापुल–अत्तरिया ६ लेन सडकको सर्भिस लेनको बिचबाट बर्सातको पानी मोहनासम्म बग्नका लागि नाली निर्माण गर्न ठेक्का सम्झौता गरिएको हो। बस्तीको पानी नालीसम्म ल्याउन विभिन्न ठाउँमा च्याम्बरहरू निर्माण गरिने छ। नाली सफा गर्नका लागिसमेत होलहरुसमेत निर्माण गरिने सहरी विकासले बताएको छ। निर्माण कम्पनीहरूले २०८३ वैशाख १६ गते भित्र काम पूरा गर्नुपर्ने छ। २२ महिनामा निर्माण कम्पनीले २ हजार ८ सय १५ मिटर नाली निर्माणको काम सक्नुपर्ने छ। इन्जिनियर पुष्प भट्टका अनुसार धनगढी उपमहानगरपालिका, नेपाल टेलिकम, विद्युत् र खानेपानीसँग समन्वय भइरहेको बताए। उनले मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणका क्रममा सडक क्षेत्राधिकार खाली भएकाले समस्या नहुने बताए। उनले भने, ‘पूर्व तिर खाली छ। पश्चिम क्षेत्रमा खानेपानीका पाइपहरु छन। स्तान्तरण गर्नुपर्ने छ। सडक निर्माणका बेला क्षेत्राधिकार खाली भएकाले समस्या हुँदैन।’
आर्थिक वर्ष २०८०/०८१ मा नाली निर्माणका लागि १७ करोड बजेट रहेको थियो। तर, सम्झौता नभएकाले बजेट फिर्ता गएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकका कारण धनगढीमा डुबान हुँदै आएको भन्दै धनगढी उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारेको थियो। धनगढीको डुबान समस्या समाधानका लागि सडकको दुबै तिर नाली निर्माण गरिने भएको हो।