प्रदेश सरकारबाट योजना हाल्ने भन्दै माओवादी नेताबाटै साढे २ लाखको बार्गेनिङ
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारबाट योजनामा बजेट हाल्ने भन्दै कमिसन उठाउने काममा नेकपा माओवादी केन्द्रका नेताहरूको संलग्नता रहेको खुलेको छ।
माओवादी केन्द्रका प्रदेश कमिटी उपाध्यक्ष र दुई जना सदस्यले योजना पारिदिने भन्दै कमिसन उठाएको विषय बाहिर आएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भएका एक जनाले माओवादीका नेताहरूले योजना हाल्ने भन्दै अग्रिम कमिसन लिएको दाबी गरेका छन्। सुरूमा २० हजार मागेको र त्यसपछि साढे २ लाख मागेको उनको आरोप छ।
को हुन् कमिसन उठाउने माओवादी नेताहरू?
सुदूरपश्चिमा हरेक आर्थिक वर्ष सुरु हुनुअघि योजनामा बजेट हाल्न पहल गर्ने भन्दै विचौलियाहरूको टोली टोल–टोलमा पुग्ने चर्चा हुने गरेको छ। विचौलिया समूहले योजनामा बजेट मिलाउने भन्दै धरौटी बापत अग्रिम रकम उठाउने गरेको गुनासो बढ्ने गरेको छ। प्रदेश सरकारलाई यो विषयमा जानकारी गराउँदा प्रमाण फेला परे कारबाही गर्ने जवाफ आउने गरेको छ।
तर, यो पटक भने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष हुकुम साउँद, प्रदेश कमिटी सदस्य डबल ताम्राकार र मदन ओडले अग्रिम कमिसन लिएको गुनासो गरिएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का ज्ञानेन्द्र महराले माओवादी नेताहरूले आफूबाट २० हजार अग्रिम कमिसन लिएर साढे २ लाखको बार्गेनिङ गरेको आरोप लगाएका छन्।
उनले मदन ओडले पटकपटक घरमै आएर योजना हाल्ने भन्दै कमिसन बापत २० हजार बुझेको समेत दाबी गरेका छन्। ‘२० हजार रुपैयाँ धरौटी राख्नुपर्छ, तपाईंहरू उपभोक्ता समिति गठन गर्नुस् भनेर भनियो। जबरजस्ती गरेर मदन ओड मेरो घरमै आएर पैसा लगेर गएका हुन्’ उनले भने, ‘पैसा लगेको १०/१५ दिनपछि आफैले फोन गरेर यो पैसाले हुँदैन दुई ढाई लाख दिनुस् भन्ने कुरा भयो।’
उपभोक्ता समिति गठन गर्ने आइडिया समेत दिइयो
कृष्णपुर नगरपालिका–१ मोतिपुरमा सिँचाइ कुलो निर्माणको योजना हाल्न पहल गर्ने भन्दै मदन ओड घरमै आएर कुराकानी गरेको ज्ञानेन्द्र महराको दाबी छ। २०८० फागुन १५ गते ओड र धनगढी घर भएका माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य समेत रहेका डबल ताम्राकार पल्सर बाइकमा आएर कमिसन बापतको २० हजार रुपैयाँ लगेको उनले बताए।
महराले माओवादी प्रदेश उपाध्यक्ष साउँदले मदन र डबललाई परिचालन गरेको आरोप समेत लगाएका छन्। तर, कमिसन उठाउने कुरामा आफ्नो कुनै संलग्नता नभएको प्रदेश कमिटी उपाध्यक्ष हुकुम साउँदको दाबी छ। उनले मदन ओड र डबल ताम्राकारले आफ्नो नामको बैंक चेकको दुरुपयोग गरेको बताए।
डब्बल ताम्राकारसँग लेनदेन रहेकाले आफ्नो चेक दिएको तर योजना हाल्ने भन्दै कमिसन उठाउने कुरामा आफ्नो संलग्नता भएको साउँदले अस्वीकार गरेका छन्। मदन र डबलले भने उपभोक्ता समिति गठन गर्ने तरिका समेत सिकाएको महराको भनाइ छ। उनीहरूले सामाजिक सञ्जालबाट उपभोक्ता समिति गठनको कागजी प्रक्रिया गर्ने कुरा सिकाएका छन्। महरालाई उनीहरूले खेस्राअनुसारको कागजात तयार गर्न लगाएका छन्।
कमिसन होइन खर्च मागिएको होः ओड
ज्ञानेन्द्रको दाबी अनुसार मोतिपुरका बासिन्दाले सिचाई कुलोको लागि विभिन्न निकायसंग अनुरोध गरे पनि कसैले सुनुवाई गरेनन्। ज्ञानेन्द्रका एक नातेदारले प्रदेशबाट चालु आर्थिक वर्षमा नै सिचाई कुलोको लागि बजेट मिलाउन सहयोग गर्ने बचन दिए। उनले धनगढीका मदन ओडसँग ज्ञानेन्द्रको चिनजान गराए। मदनले प्रदेश सरकारबाट कुलोको लागि दुई लाख बजेटको व्यवस्था गर्ने आश्वासन दिएको ज्ञानेन्द्रको दाबी छ।
तर, अकस्मात काठमाडौं जानुपर्ने भएकाले महरासँग कमिसन नभएर २० हजार खर्च मागेको मदन ओडको दाबी छ। उनले योजना हाल्ने भनेर आफूहरूले कसैसँग पनि कमिसन नउठाएको तर्क गरे। डबल र म काठमाडौं आउँदै थियौँ, उनले हामीलाई दिएको २० हजार रुपैयाँ हो’, उनले भने, ‘चेक साट्नुहोला भनेर चेक दिएका हुन् डबल जीले, योजना हालेर पैसा थप्नुपर्छ भन्ने कुरा काहिँ गरेकै छैन।’
साटिएन चेक
ज्ञानेन्द्रले योजना हाल्न माओवादी केन्द्रका नेताहरूलाई अग्रिम कमिसन २० हजार दिएको १०÷१५ दिनपछि साढे २ लाख माग्न फोन गरेको दाबी गरेका छन्। साढे २ लाख दिन नसक्ने भन्दै २० हजार फिर्ता माग्दा मदन ओड र डबल ताम्राकारले हुकुम साउँदको नामको चेक महरालाई दिइएको छ। उक्त चेक साट्न जाँदा नसाटिएको महराको भनाई छ।