सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा तरकारीको मुल्य तीन गुणाले बढ्यो, कारण यस्तो छ

२०८१ असार ३१, ०७:०३ खबर संवाददाता

धनगढीः कैलालीमा तरकारीको मूल्य तीन गुणाले बढेको छ। गत साताको अविरल वर्षापछि तरकारीको मूल्य आकासिएको हो।

लगातारको वर्षा र डुबानका कारण बोट नै कुहिएपछि तरकारीको मुल्य बढेको हो। कैलालीसँगै कञ्चनपुरमा समेत अहिले तरकारीको मूल्य तीन गुणाले बढेको छ। टमाटर प्रतिकिलो दुई सय, लौका र फर्सी १५०, करेला दुई सय, आलु एक सय, काक्रा दुई सय रुपैयाँमा बिक्री भइरहेको छ। एक साताअघिसम्म यीनै तरकारीको मूल्य प्रतिकिलो ५० देखि ६० रुपैयाँ हाराहारी थियो।

अहिले मूल्य मात्रै बढेको छैन पाउन समेत सहज नभएको धनगढी–५ का स्थानीय रामबहादुर कार्कीले बताएका छन्। एकै पटक तीन गुणाले मूल्य बढेको उपभोक्ताको गुनासो छ। कैलालीको अत्तरिया र कञ्चनपुरको महेन्द्रनगर तथा आसपासका बजारमा अहिले डडेलधुराबाट तरकारी आइरहेको छ। स्थानीय उत्पादन एकाएक घटेका कारण मूल्य बढेको व्यवसायीहरुको तर्क छ। टमाटर र आलु भारतीय बजारबाट पनि आउने गरेको छ।

महेन्द्रनगर सब्जीमण्डी व्यवसायी समितिका अध्यक्ष विशाल सुनारले लहरे तरकारी पुरै सकिएको बताए। लहरे तरकारी जाल बनाएर उत्पादन गरिन्छ। वर्षाले जाल नै टुटेर भुँइमा झरेपछि तरकारी पुरै कुहिएको उनले बताए। उनका अनुसार महेन्द्रनगर र आसपासका बजारमा दैनिक १० टनसम्म तकारी खपत हुने गरेको छ। वर्षा सुरु भएसँगै नदी बगरको तरकारी उत्पादन समेत घटेको छ।

बगरको मात्र नभएर अन्य क्षेत्रको उत्पादन पनि घटेर मूल्य बृद्धि भएको छ। उपभोक्ताहरु भने वर्षाको कारण देखाएर व्यापारीहरुले एकाएक मूल्य बृद्धि गरेको बताउने गरेका छन्। विगतका वर्षमा पनि वर्षायाममा यसैगरी मूल्य बृद्धि हुने गरेको थियो। स्थानीय प्रशासन र नगरपालिकाले अनुगमन गर्नुपर्ने उपभोक्ताहरुको सुझाव छ। भारतको पलियास्थित वङ्शीनगरमा केही दिनदेखि वर्षाका कारण बाटो अवरुद्ध छ।

आयात रोकिएपछि धनगढीमा तरकारीको मूल्य निकै बढेको व्यवसायीहरुले बताएका छन्। आयात भएका विभिन्न तरकारी प्रदेशका अन्य पहाडी जिल्लामा समेत जाने गरेको छ। अविरल वर्षाका कारण पलिया नजिकै बाटो अवरुद्ध भएपछि तरकारी आयात रोकिन पुगेको छ। धनगढीको रामजानकी सब्जीमण्डीमा तरकारी लिन आएका हरिभक्त जोशीले अहिले बजारमा तरकारीको मूल्य ह्वात्तै बढेको बताए। उनले अहिले फर्सी, लौका प्रतिकिलो ३० देखि ५० रूपैयाँ हुने गरेकामा अहिले एक सय रूपैयाँभन्दा बढी पुगेको बताए।

कमेन्ट लोड गर्नुस