सुदूर नेपाललाई विश्वसँग जोड्दै

३० दिनभित्र विश्वासको मत लिने मुख्यमन्त्री सोडारीको अडान

अधिवेशन अन्त्य गर्न सिफारिस पत्र

२०८१ असार ३१, १०:०९ खबर संवाददाता

धनगढीः ३० दिनभित्र विश्वासको मत लिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको अडान कायमै छ।

नयाँ गठबन्धनमा आवद्ध नेताहरुले राजीनामा दिन दबाब बढाइरहेका बेला मुख्यमन्त्री सोडारीले भने विश्वासको मत लिने यसअघिको अडानलाई कायमै राखेका छन्। एकीकृत समाजवादीका सोडारी नेतृत्वको सरकारमा आर्थिक मामिलामन्त्री रहेका एमालेका सुरेन्द्रबहादुर पालले असार १ गते प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेस गरेका थिए।

एमाले सरकारबाट बाहिरिएपछि आफ्नै दलका मन्त्रीले ल्याएको बजेटको स्वामित्व लिन नखोज्दा अहिले प्रदेशसभामा पेस भएको बजेट ‘बेवारिसे’ बन्न पुगेको छ। बजेट पास गर्न छलफलका लागि प्रदेशसभामा बैठक नै बोलाउन नसकेको सरकारबाट असार २० गते एमालेले समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि बजेटको अन्योल बढ्दै गएको हो।

अन्तिम अवस्था आएपछि मुख्यमन्त्री सोडारीले मन्त्रिपरिषद्को निर्णय गर्दै आइतबार रातिदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस पत्र पठाएका छन्। ४ बजेर ४८ मिनेटमा पत्र प्राप्त भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुंगानाले बताए। तर प्रदेश प्रमुख बाहिर भएकाले उहाँले कस्तो निर्देशन गर्नुहुन्छ, त्यसैमा भर पर्ने कुरा भएको उनले बताए।

प्रदेश प्रमुखबाट आइतबार रातिदेखि प्रदेशसभा बैठक अन्त्य नगरे सरकारले चाहेअनुरूप सोमबार अध्यादेशबाट बजेट ल्याउने बाटो पनि बन्द हुनेछ। अल्पमतमा परिसकेका मुख्यमन्त्री सोडारीले राजीनामा गरेर निकास दिनुपर्ने कांग्रेस र एमाले नेताहरूको माग छ। बजेट पेस गरेको दोस्रो दिन पत्रकार सम्मेलन गर्दै आफूले ल्याएको बजेट अहिलेसम्मकै उत्कृष्ट भएको दाबी गरेका तत्कालीन अर्थमन्त्री पालले पदबाट राजीनामा दिइसकेपछि बोली फरेका थिए।

बजेटको निकास दिनेबारे शनिबार सभामुख भीमबहादुर भण्डारीले गरेको सर्वदलीय छलफलको प्रयास निष्कर्षविहीन भएको थियो। संविधानले ३० दिनको म्याद दिएको छ। मुख्यमन्त्रीले राजीनामा नदिने जलस्रोत तथा सहरी विकासमन्त्री अक्कलबहादुर रावलले बताए। अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले विश्वासको मत परीक्षण गर्ने अडान लिए पनि अहिलेकै अवस्थामा उनले विश्वासको मत प्राप्त गर्ने सम्भावना देखिँदैन।

एमालेका ११, माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टी (रञ्जिता श्रेष्ठ समूह) का २ र एक जना स्वतन्त्र सांसदको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारी एमाले बाहिरिनेबित्तिकै विश्वासको मत पाउने सम्भावना छैन। ५३ सदस्यीय प्रदेशसभामा सरकारले विश्वासको मत प्राप्त गर्न २७ मतको आवश्यक पर्छ। सुदूरपश्चिममा कांग्रेसका १८ र एमालेका ११ प्रदेशसभा सदस्य छन्।

कमेन्ट लोड गर्नुस