सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा ‘अषाढी जात’ सम्पन्न

२०८१ असार ३१, ०८:३८ खबर संवाददाता

बैतडी: बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा ‘अषाढी जात’ सम्पन्न भएको छ। दशरथचन्द नगरपालिका वडा नम्बर-८ मा रहेको मन्दिरमा हरेक वर्ष असार शुक्ल पक्षको अष्टमी र नवमी तिथिमा मन्दिरमा लाग्ने यो जात्रालाई स्थानीयले ‘अषाढी जात’ भन्ने गरेका छन्।

स्थानीयका अनुसार असार शुक्ल पक्षको प्रतिपदाका दिनदेखि दिनगन्ती गरेर आठौँ दिनमा जात्रा सुरू हुने र नवमीमा जात्रा सम्पन्न हुने जानकारी दिए। असार शुक्ल अष्टमीका दिन त्रिपुरासुन्दरीको भण्डार घरबाट भण्डार ल्याएर मन्दिरमा राख्ने, नवमीका दिन त्रिपुरासुन्दरीको सवारी कापडी गाउँमा हुने र त्यहाँबाट फर्केपछि सिंहासनमा विराजमान गराइने चलन रहेको छ।

जात्रा दर्शनका लागि नेपालका मात्रै नभई सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरू समेत यहाँ आउने गरेका छन्। हरेक वर्षझै यसपटक पनि भारतको झुलाघाट, पिथौरागढलगायत क्षेत्रबाट दर्शनार्थी यहाँ पुगेका थिए। त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक वर्षको कार्तिक शुक्ल अष्टमी र नवमी तथा असार शुक्ल अष्टमी र नवमीका दिन बलीसहितको जात्रा हुने गरेको छ। असोजको नवरात्र र चैते दसैँमा पनि मन्दिरमा पूजाआजासहित जात्रा हुने गरेको छ। त्रिपुरासुन्दरी भगवतीलाई स्थानीयले रणशैनी भगवतीको रूपमा पुर्काने गरेका छन्।

कमेन्ट लोड गर्नुस