सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लाखौँ बुझाएर आउँछन करोडौ कमाएर जान्छन वनका हाकिम

२०७६ जेठ २३, ०६:५७ नवराज पनेरु

पछिल्ला केहि बर्ष यता कैलाली जिल्लामा अवैध रुपमा रुख कटानी र वन अतिक्रमणले प्रसय पाएको छ। साविकको वन कार्यालय र अहिलेको डिभिजन कार्यालय र सव डिभिजन कार्यालयहरुकै लापरवाहीका कारण वन अतिक्रमण र अवैध रुख कटानीले प्रसय पाएको आरोप लाग्दै आएको छ। राजनीतिक शक्ति र आर्थिक लेनदेनले वन कार्यालयमा प्रमुख भएर आउने गरेका कारण पनि वनमा अनियमितता मौलाएको आरोप लाग्न थालेको छ। देशभरीमा सबैभन्दा बढि वन क्षेत्र रहेको कैलाली जिल्लामा तत्कालिन जिल्ला वन कार्यालय र अहिलेको डिभिजन कार्यालयको प्रमुख बन्नका लागि राजनीतिक आड र आर्थिक लेनदेन हावी हुन थालेपछि यस्तो अवस्था श्रृजना भएको हो।

यसक्षेत्रबाट राष्ट्रिय राजनीतिमा दख्खल राख्ने नेताहरु, प्रदेश सरकारका मन्त्री र संघीय सरकारका मन्त्री निकटका व्यक्तिले मात्रै कैलाली जिल्लामा वन कार्यालयको प्रमुख हुने मौका पाउने गरेको कैलालीमा वन अधिकृत भएर बसिसकेका एक जनाले बताए। ‘डिभिजन र सव डिभिजन कार्यालयको प्रमुख बन्नका लागि नेताहरुलाई लाखौँ बुझाउन पर्ने र उनीहरु सरुवा भएर जाँदा करोडौँ कमाएर जाने गरेका छन्र्।’ उनले भने। कैलाली जिल्लामा वन डिभिजन कार्यालय धनगढी र पहलवानपुर गरि २ वटा प्रमुख कार्यालय छन्। त्यसैगरि जिल्लाभरी विभिन्न क्षेत्रमा सव डिभिजन कार्यालयहरु पनि छन्। 

कैलाली जिल्लामा राष्ट्रिय वन, बाह्र वनदेखि सामुदायिक वनमा समेत अवैध रुपमा रुख कटानीको बेला–बेला चर्चा हुने गरेको छ। चुरे क्षेत्रमा अवैध कटानीले झनै प्रसय पाएको छ। वन कार्यालयको प्रमुख भएर आउँदा लाखौँ रकम बुझाएर आउने पर्ने भएकै कारण ति कार्यालय प्रमुखहरुले आफ्नो कार्यकाल कमाउनमै केन्द्रित पार्ने गरेको आरोप समेत लाग्ने गरेको छ। जस्ले गर्दा अहिले अख्तियारमा पनि वनमा अवैध कटानीका विषयमा मुद्धाको चाङ नै लाग्ने गरेको छ। यद्यपी त्यस्मा वनका कर्मचारी जोगिदै आएका छन्। उपभोक्ता समितिका विरुद्धमा सबैभन्दा बढि मुद्धा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रवक्ता टोपवहादुर विष्टले बताए। 

कानुनले एक जना कार्यालय प्रमुखलाई कम्तिमा पनि २ बर्ष एउटा कार्यालयमा बस्नै पर्ने प्रावधान निर्धारण गरेको छ। तर कैलाली जिल्लाको वन कार्यालयमा पछिल्लो ८ बर्षमा ९ जना कार्यालय प्रमुख फेरिएका छन्। २०६७ असार १६ गते वन कार्यालयको प्रमुख भएर राजेन्द्रमानसिंह भण्डारी आएका थिए भने त्यसपछि मुरारी पौडेल, हेम अर्याल, सिन्धु ढुङगाना, रमेश चन्द, राजेन्द्र केसी, नवराज काफ्ले, अमर बुलन र अहिले रामचन्द्र कडेल प्रमुख भएर आएका छन्। तर विगतमा जे जस्तो भएपनि अहिले कार्यालय प्रमुख बन्नका लागि आर्थिक लेनदेन र राजनीतिक शक्तिको प्रयोग नभएको दावी वन डिभिजन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कडेलको भनाई छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस