युवा संस्कृतिसेवी जोशी सम्मानित
धनगढीः युवा संस्कृतिसेवी धर्मराज जोशी सम्मानित भएका छन्। गुगुल्डि वाङ्मय प्रतिष्ठानको ७ औँ वार्षिकोत्सवको अवसरमा जोशीलाई सम्मान गरिएको हो। धनगढी–१२ जुगेडाका जोशीलाई “कौशल्या कुमारी देवी कर्ण बहादुर स्मृति सम्मान“ प्रदान गरिएको छ।
मङ्गलवार गुगुल्डि वाङ्मय प्रतिष्ठान कञ्चनपुरको ७ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ। वार्षिकोत्सवको अवसरमा संस्थाले हरेक वर्ष वितरण गर्दै आइरहेका विभिन्न सम्मान तथा पुरस्कार वितरण गरिनुको साथै रचनावाचन गरिएको थियो।
सम्मानित हुनेमा गुगुल्डि वाङ्मय सम्मान आर डि प्रभास चटौत, गुगुल्डि न्वाकि मानपान मनिराज जोशी, डोट्याली भाषा श्रीवृद्धि प्रभाव प्रतिभा सम्मान सुरेश चन्द ठुकरी सहयात्री, ग्वाल्लेक गौरव लच्छु डुणिचन्द स्मृति सम्मान हेमबाबु लेखक र मालमहिम रामरत्ना सम्मान मुध हमाललाई प्रदान गरिएको छ। उक्त पुरस्कार तथा सम्मान विभिन्न व्यक्तिहरुले अक्षयकोष स्थापना गरी हरेक वर्ष प्रदान गर्ने गरिन्छ।
नेपाल तथा भारतका विभिन्न स्रष्टाहरु उपस्थित उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्द (विश्राम) ले गरेका थिए भने वेदकोट नगरपालिकाका प्रमुखले प्रमुख आतिथ्यता गरेका थिए। कार्यक्रममा दीर्घबहादुर चन्दका आगो र रसप्तरंगी सुमन, वीरबहादुर चन्द (विश्राम) को खिचडीकी महक, कल्यान ओझाको प्रकाशित पाथी बढी काव्यहरु लगायतका कृतिहरु समेत विमोचन गरिएको थियो।