सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ठाउँठाउँमा डुबान, नगरप्रहरीले यसरी दिँदैछ पानीको निकास

२०८१ असार २४, ११:२२ खबर संवाददाता

धनगढीः लगातारको वर्षाका कारण धनगढीका धेरै स्थानमा डुबान भएको छ। पानीको निकास नै बन्द भएर डुबान भएका क्षेत्रमा नगर प्रहरीको टोली खटिएर पानीको निकास दिने काम भइरहेको छ।

हिजोसम्म एक दर्जन बढी स्थानमा नगर प्रहरीले पानीको निकास दिने काम गरेको छ। डुबान भएको क्षेत्रमा पानीको निकास दिने काम आज पनि जारी छ। आज विहान धनगढी उपमहानगरपालिका–१ त्रिनगर कम्प्लेक्स अगाडी निर्माणाधीन सडकमा नालीमा पानी जान नपाएर पानी पसलभित्र जाने संभावना देखा परेपछि नगर प्रहरीले व्याकु लोडर प्रयोग गरेर पानी निकासा गरेको छ।

आज नै धनगढी–१ सिताराम डेरी अगाडी नाली बन्द भएर पानी निकास बन्द भएपछि पानी निकासा गर्ने काम भएको हो। हिजो (आइतबार) दिनभर नगर प्रहरीले एक दर्जन बढी स्थानमा भएको डुबान समस्या हल गर्ने काम गरेको छ। नगर प्रहरीले धनगढी–४ दैलो होटल पछाडी घरमा पानी पसेपछि पानीको निकास दिन सहयोग गरेको छ।

त्यस्तै धनगढी–४ तुलसी चोकस्थित कञ्चन शाहीको घरमाथि सुकेको रुख ढलेपछि वन विभागका कर्मचारी र वडाअध्यक्षको समन्वयमा  नगर प्रहरीको टोलीले व्याकु लोडर प्रयोग गरेर रूख हटाउने काम भएको छ। सुदूरपश्चिम प्रदेशको भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय अगाडी ६ लेन सडकको नालामा फोहर जम्मा भएर पानीको निकास बन्द भएपछि फोहर सफा गरेर पानीको निकासा गरिएको छ।

धनगढी–१४ मा स्थानीयको घरभित्र कोब्रा सर्प पस्नु अगावै नगर प्रहरीले उद्दार गरेर सुरक्षित स्थानमा छोडिदिएको छ। धनगढी–१३ डिलासैनी सामुदायिक वनको रुख ढलेर राजघाट जाने बाटो अबरुद्ध भएपछि रुख हटाएर आवागमन सुरुचारु गर्ने काम समेत भएको छ। त्यस्तै धनगढी–३ मिलन चोक नालीमा जम्मा भएको माटो नगर प्रहरीले व्याकु लोडर प्रयोग गरि पानी निकासा गर्ने काम समेत गरेको छ।

धनगढी–१४ फुलबारीमा बर्षाका कारण भएको  डुबान व्याकु लोडर प्रयोग गरेर पानी निकास गर्ने काम भएको छ। धनगढी–१५ कनरीमा डुबान भएपछि ७ घरधुरीका सदस्य र सामान, खाद्यन्न र चौपायाको उद्दार गरिएको छ। धनगढी–८ तौलाह ताल नजिकै नालीमा पानी बग्न अवरोध भएपछि व्याकु लोडर प्रयोग गरेर नालीको पानी निकास गरिएको छ।

धनगढी–१ कलाकार चोकमा पानी अवरोध भएर नालीमा पानी नै नबगेपछि नाला सफा गरेर पानीको निकास दिने काम भएको छ। त्यस्तै धनगढी–१८ मा ‘ए’ गाउँमा गौरी सुनार, फुलराम चौधरी र माया श्रेष्ठको घरभित्र पानी पसेपछि नगर प्रहरीले व्याकु लोडरले कुलो खनेर पानी निकास गर्ने काम भएको छ।

धनगढी–१९ पच्चीस घर नजिकका घरमा पानीभित्र पसेपछि कुलो खनेरै पानीको निकास गरिएको छ। धनगढी–३ जनता विद्यालय नजिक नालीमा पानी अवरोध भएर डुबान भएपछि पानीको निकास दिने काम भएको छ। धनगढी–५ एक्सिस स्कुल पछाडी नाला अवरोध भएर पानी बग्न बन्द भएपछि निकास दिने काम भएको उपमहानगरपालिकाले जनाएको छ।

कमेन्ट लोड गर्नुस