सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा वीरभान हत्या प्रकरणः शिक्षिकासहित ५ जना पुर्पक्षका लागि कारागार चलान

२०८१ असार २४, १०:३९ खबर संवाददाता

धनगढीः बैतडीको पाटन नगरपालिका–६ घर भएका ट्रक चालक बीरभान बिष्टको हत्या गरेको अभियोगमा शिक्षिकासहितका पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

बिष्टको हत्या गरेको आरोपमा पक्राउ परेका बिष्टकी बुहारी नाता पर्ने पाटनकै शिक्षिका ३६ वर्षीया भागरथी बिष्ट, ३८ वर्षीय भरतमोहन बिष्ट, पाटन–१ का १९ वर्षीय राजेन्द्र भट्टराई, १७ वर्षीय किशोर भट्टराई र २६ वर्षीय शाशिष पहरी कारागार चलान भएको प्रहरीले जनाएको छ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक गिरीले आइतवार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि अदालतले पाँचै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बताए। सोही आदेशअनुसार उनीहरुलाई कारगार चलान गरिएको हो।

डीएसपी गिरीकाअनुसार पाँच जना अभियुक्त मध्ये ३६ वर्षीया भागरथी बिष्टलाई जिल्ला कारागार डडेल्धुरा र १७ वर्षीय किशोर भट्टराईलाई बाल सुधार गृह दिपायलमा पठाइएको छ भने अन्य तीन जनालाई बैतडी कारागारमा राखिएको छ। गत १ असारको रातिदेखि बेपत्ता भएको ट्रक चालक समेत रहेका बिष्टको शव तीन दिनपछि विभत्स हत्या गरेर फालिएको अवस्थामा पाटन नगरपालिकाकै पाटन–पञ्चेश्वर सडकखण्डको घाङल खोलामा भेटिएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा बिष्ट बुहारी नाता पर्ने शिक्षिका भागरथीको घरबाट हराएको खुलेपछि उनलाई नियन्त्रणमा लिएको थियो। बिष्टकै बयानका आधारमा उनको शव फेला परेको थियो। मृतक नातामा उनका कान्छा ससुरा पर्ने भएपनि उनीहरुबीच अनैतिक सम्बन्ध रहेको थियो। घटना भएको दिन भागरथीको घरमा अभियुक्त मध्येका दुई जना भएका बेला उनी प्रवेश गरेपछि विवाद हुँदा हत्याको अवस्था सिर्जना भएको देखिएको प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस