सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा लगातारको वर्षाले कतै मानवीय क्षति कतै सडक अवरुद्ध

२०८१ असार २४, १०:३० खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा लगातार वर्षा भइरहेको छ। वर्षाका कारण पहिरो खसेर कतै सडक अवरुद्ध भएको छ भने चार स्थानमा मानवीय क्षति नै भएको छ।

आज विहान मात्र कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा कल्भर्ट भत्किदा राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। कल्भर्ट भत्किएपछि बैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। कञ्चनपुरमा निरन्तर परिरहेको वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेका छन्। वर्षाले जिल्लाको भीमदत्त नगरपालिका, दोधरा–चाँदनी, पुनर्वास लगायत क्षेत्र बढी प्रभावित भएका छन्।

जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश जोशीका अनुसार जिल्लामा अहिलेसम्म ३ सय ३३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। भीमदत्त नगरपालिका–१८ सुकुम्वासी बस्तीका २ सय ५० परिवार, दोधरा–चाँदनी नगरपालिका–१० का ७२ परिवार, पुर्नवास नगरपालिका–५ र ७ का ११ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

चौधर नदी बेलडाँडी गाउँपालिका–५ इमलियामा पस्दा बेलडाँडी गाउँपालिका वडा नम्बर ३, ४, ५ र बेलौरी नगरपालिका–१० डुबानको जोखिममा परेका छन्। महाकाली नदीले तटबन्ध तोडेपछि दोधारा–चाँदनी नगरपालिकाको सुन्दरनगर बस्ती पुरै डुबानमा परेको स्थानीयले बताएका छन्। वर्षाले पुनर्वास–धनगढी हुलाकी मार्गको सिमरी क्षेत्रमा दोदा नदी पस्दा बेलौरी–पुनर्वास–धनगढी आवतजावत बन्द हुन पुगेको छ।

यसैबिच वर्षातको पानी घरभित्र पस्दा कृष्णपुर नगरपालिका–१ मोतिपुरका ७ महिने बालकको मृत्यु भएको छ। उनी वर्षातको पानी घरभित्र पसेपछि खाटबाट खसेका थिए। आइतबार दिउँसो बेलडाँडी चौधर नदी तर्ने क्रममा बेपत्ता भएका डम्बर चौधरी अहिलेसम्म फेला नपरेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। यता कैलालीमा पनि किशोर नदीमा डुबेर बेपत्ता भएका छन्।

जिल्लाको कैलारी गाउँपालिका–९ गदरियाका १७ वर्षीय अजय राना आइतवार डुबेर बेपत्ता भएका हुन्। राना भुररा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ। उनको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ। हिजो मात्र डडेल्धुरामा पहिरो खस्दा एक जना प्रधानाध्यापकको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय नवराज पनेरुको पहिरोमा परेर मृत्यु भएको हो।

उनी आदर्श ज्योती प्रावि भिरकोट परशुराम–३ का प्रधानाध्यापक समेत थिए। शनिवार दिउँसो ४ बजे खानेपानीको मुहान सफा गर्न भातगाडास्थित खानोपनीको मुहानमा पुगेका पनेरु माथिबाट आएको पहिरोमा परेका थिए। उनको घटनास्थलमै मृत्यु भएको हो। माथिबाट आएको ढुङ्गाले पनेरुको खुट्टा र ढाडमा चोट लागेको थियो। त्यस्तै कैलालीको कैलारी गाउँपालिका र भजनी नगरपालिकाका अधिकांश गाउँ जलमग्न भएका छन्।

कैलारी–५ का पुरानो मनिकापुरका १५ परिवार र पुरानो बहिसपुर १५ परिवार, वडा नम्बर ७ को बड्का वसन्ता र छुट्की बसन्ता गाउँ डुबानमा छन्। बडैपुरबाट आउने कटैनी नदीको बाढी गाउँमा पसेको कैलारी गाउँपालिका अध्यक्ष रामसमझ चौधरीले बताए। जोखिममा परेकालाई मध्यरातमा सुरक्षित स्थलतर्फ सारिएको उनले बताए। यता, भजनी नगरपालिकाका सबै वडाका बासिन्दा डुबानबाट प्रभावित भएको नगरप्रमुख केवल चौधरीले बताए।

कति घर डुबानमा छन् भन्ने यकिन नभइसकेको उनले बताए। सुरक्षाकर्मीहरूले डुबानमा परेकालाई तीनवटा डुंगाबाट सुरक्षित स्थलमा सारेको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए। उनका अनुसार रातिको तथ्यांकअनुसार १४१ परिवारका ५९१ जना विस्थापितलाई नजिकका विद्यालयमा सारिएको छ। अझै पनि कैलालीका विभिन्न नदीको सतह जोखिमको तह आसपास रहेको प्रजिअ मिश्रले बताए।

पहिरो खसेर बैतडीको पाटन नगरपालिकाको साँणीघाँटीमा जयपृथ्वी राजमार्ग आइतवारदेखि बन्द भएको छ। खोडपे बझाङ जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ। यस्तै चार दिनदेखि लगातारको वर्षाले पहिरो खसेपछि दार्चुला–गोकुेलेश्वर सडक खण्डको पनेबाज क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। अहिले अवरुद्ध सडक एक्स्काभेटर लगाएर खोल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्र रावतले बताए।

मुख्य सडकमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावतमा समस्या भएको छ। सडक अवरुद्ध भएपछि बिहानैदेखि बाहिर जिल्लाबाट दार्चुला सदरमुकाम खलंगा भित्रिने र जिल्लाबाहिर जाने गाडी उक्त क्षेत्रमा जाममा परेका छन्। त्यस्तै हावाहुरीसहितको बर्षाले बैतडीका विभिन्न स्थानमा मकैबालीमा क्षति पुगाएको छ। मकैबाली बर्षा र हावाहुरीले ढलेर सखाप भएको किसानको गुनासो छ। शुक्रबारदेखि लगातार बर्षा भइरहेको र आइतबार दिउँसो हावाहुरी समेत चलेपछि बारीमा लगाएको सबै मकैबाली ढलेर नष्ट भएको दशरथचन्द नगरपालिका–१ जरकट्टेका किसान बीरबहादुर टेरले बताए।

कमेन्ट लोड गर्नुस