सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारद्वारा साढे १० महिनामा पौने ६ अर्व खर्च, १९ अर्व खातामै

आर्थिक बर्षका ४० दिन बाँकी

२०७६ जेठ २१, ०५:०७ नवराज पनेरु

चालु आर्थिक बर्ष सकिन अव ४० दिन मात्रै बाँकी रहेपनि सुदूरपश्चिम प्रदेश सरकारको सवा १९ अर्व बजेट कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा थन्किएको छ। आर्थिक बर्षका ३ सय २५ दिनमा प्रदेश सरकारले ५ अर्व ७५ करोड मात्रै खर्च गर्न सकेकोमा अव बाँकी रहेको ४० दिनमा १९ अर्व २५ करोड खर्च गर्नुपर्ने देखिएको हो। प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय सुदूरपश्चिमका अनुसार प्रदेश सरकारको २५ अर्व १ करोड बजेट रहेकोमा अहिले सम्म ६ अर्व ७५ करोड मात्रै खर्च भएको छ। जुन कुल बजेटको २३ प्रतिशत मात्रै हुन्छ। 

त्यस्मा पुँजिगत अर्थात विकास बजेट खर्चको अवस्था भने झनै निराशाजनक छ। अहिले सम्म प्रदेश सरकारको विकास बजेट १२ अर्व ३७ करोड रहेकोमा त्यस्को १९ प्रतिशत अर्थात २ अर्व ४६ करोड मात्रै खर्च भएको छ। पछिल्ला १८ दिनमा मात्रै ४९ करोड खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका सुचना अधिकारी यज्ञराज पाण्डेयले बताए। 

यस्तै प्रदेश सरकारको चालु तर्फको बजेट १२ अर्व ६४ करोड रहेकोमा त्यस्को २६ प्रतिशत अर्थात ३ अर्व २९ करोड मात्रै खर्च भएको छ। पछिल्लो १८ दिनमा प्रदेश सरकारले चालु तर्फको २२ करोड खर्च गरेको सुचना अधिकारी पाण्डेयले जानकारी दिए। प्रदेश सरकारले शत प्रतिशत बजेट खर्च गर्नका लागि अव प्रत्येक दिन ४८ करोड खर्च गर्नुपर्ने देखिएको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस