सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीसहितका चार स्थानीय तहमा क्षेत्रीय सहरीका सडक निर्माण गर्न ३२ करोड

२०८१ असार २०, १०:३३ कमल सावद

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाभित्र क्षेत्रीय सहरी विकासले ४२ किलोमिटर सडक निर्माण गर्न डिपीआर तयार पारेको थियो।

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा क्षेत्रीय सहरी विकासले धनगढीमा १० दशमलव ६८ किलोमिटर सडक पहिलो चरणमा निर्माण थालिएको छ। पहिलो चरणको सडक निर्माणको काम अन्तिम चरणमा पुगेका बेला दोस्रो चरणको काम सुरु गर्न बजेट विनियोजन गरिएको हो।

धनगढीमा ३२ किलोमिटर सडक निर्माणका लागि विस्तृत योजना प्रतिवेदन तयार छ। तर, आर्थिक आर्थिक वर्ष २०८१/८२ का लागि ८ करोड मात्र बजेट विनियोजन गरिएको छ। क्षेत्रीय सहरी विकास योजना कार्यालय, धनगढीका प्रमुख रमेश थिङ्गले दोस्रो चरणको कार्यक्रमका लागि ८/८ करोड बजेट आएको बताए। उनले भने, ‘चार वटा स्थानीय तहमा दोस्रो चरणको कार्यक्रम सञ्चालन हुन्छ। धनगढी, गोदावरी, भीमदत्त र सुक्लाफँटामा ८/८ करोड विनियोजन भएको छ। कार्यक्रम सुचारु हुने भएको हो। धनगढीमा ३२ किलोमिटर बाँकी छ। बजेट कम छ।’

धनगढीमा एक किलोमिटर सडक निर्माण, ढल निर्माण, सडकमा फुटपाथ निर्माण, सौर्य सडक बत्ती जडान, हरियालीलगायत मुख्य पूर्वाधार बनाउन १० करोड बजेटको आवश्यक पर्छ। तर, धनगढीसहित चार स्थानीय तहमा ८ करोडका दरले मात्र बजेट विनियोजन गरिएको छ। दोस्रो चरणको सडक योजनाको काम भने साउन महिनादेखि सुरु हुने दाबी गरिएको छ। उनले भने, ‘सडक, नाला र फुटपाथ निर्माण गरिने बताए। उनले भने, बहुवर्षीयका लागि छलफल सुरु भएको छ। साउन लापेपछि थप काम हुन्छ। डिपीआरको काम भएको छ।’

धनगढीसहित चारवटै स्थानीय तहमा फोहोरमैला व्यवस्थापन केन्द्रको जग्गा विवादका कारण एसियाली विकास बैँकको ऋण सहयोगमा निर्माण हुने पूर्वाधारको काम रोकिएको थियो। योजना कार्यान्वयनमा ढिलाई हुँदा लागत बढेकाले डिपीआर अनुसार काम हुन नसकेको हो। आगामी आर्थिक वर्षमा पनि बजेट कम भएकाले ठेक्का सम्झौतामा समस्या हुने योजना कार्यालयका प्रमुख थिङ्गले बताए। क्षेत्रीय सहरी विकासले डिपीआर तयार पारेका धनगढीका कतिपय सडक सुदूरपश्चिम प्रदेश सरकारको बजेटबाट समेत निर्माण थालिएका छन्।

क्षेत्रीय सहरी विकास आयोजनाले धनगढीमा ४२ किलोमिटर सडकमा १० दशमलव ६८ किलोमिटर, गोदावरीमा २१ किलोमिटरमा १७ किलोमिटर, भीमदत्तमा ३६ किलोमिटरमा १४ किलोमिटर र शुक्लाफाँटामा ८ दशमलव ९ किलोमिटरमा चार दशमलव चार किलोमिटर सडक निर्माणको काम पूरा गर्दैछ। धनगढीमा ३२ किलोमिटर, गोदावरीमा चार किलोमिटर, भीमदत्तमा २२ किलोमिटर र शुक्लाफाँटामा चार दशमलव ९ किलोमिटर सडक निर्माणको काम बाँकी रहेको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस