सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेले प्रधामन्त्रीलाई दिएको समर्थन फिर्ता लियो

२०८१ असार १९, ०८:५७ खबर संवाददाता

काठमाडौँः नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने अब प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्नेछ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नगरेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए। “हाम्रो सचिवालय बैठकले आजसम्म प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्रीले मार्गप्रशस्त नगरेपछि समर्थन फिर्ता लिएका छौं,” ज्ञवालीले भने।

एमालेको असार १८ मा बसेको सचिवालय बैठकले राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो। त्यसका लागि प्रधानमन्त्री दाहाललाई एक दिनको समय दिएको थियो। प्रधानमन्त्रीले राजीनामा नदिएमा त्यसपछि चाल्नुपर्ने कदमका लागि एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिएको थियो।

“सचिवालयले दिएको दिएको अधिकारअनुसार, अध्यक्षले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो,” ज्ञवालीले भने। नेपाली कांग्रेससँग भएको सहमति अनुसार, अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्न दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको ज्ञवालीले बताए। कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ। दुवै पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने पनि तय भएको छ। 
 

कमेन्ट लोड गर्नुस