सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा १२ प्रकृतिका उद्योगको अध्ययनः घट्यो चिनी र तेल उत्पादन

२०८१ असार १९, ११:०१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा विभिन्न प्रकृतिका उद्योगको उत्पादनको अवस्था अध्ययन गरिएको छ। प्रदेशभित्र सञ्चालित विभिन्न १२ प्रकृतिका उद्योगको उत्पादन क्षमता लगायतको विषयमा अध्ययन गरिएको हो।

सुदूरपश्चिममा उत्पादनमुलक उद्योगको संख्या बढ्न नसकेको अवस्थामा भएका उद्योग पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन्। सुदूरपश्चिममा ५ करोडदेखि साढे तीन अर्ब लगानी भएका उद्योग सञ्चालनमा छन्। तर अधिकांश उद्योगले आफ्नो उत्पादन बढाउन सकेका छैनन्।

उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थदेखि दक्ष जनशक्ति अभावका कारण कारोबार बढ्न नसकेको सञ्चालकहरुले बताएका छन्। सुदूरपश्चिममा मुख्यगरी तोरीको तेल, चामल, गहुँको पिठो, चिनी, रोजिन र साबुन उद्योग सञ्चालनमा छन्। चिनी, इँटा र क्रंकिट उद्योगको अधिकतम क्षमता उपयोग भएको पाइएको छ भने धेरैजसो उद्योग अझै पूर्ण क्षमतामा चल्न सकेका छैनन्।

तेल, चामल, गहुँको पिठो र साबुन उत्पादन गर्ने उद्योगको औषत क्षमता उपभोग भएको दाबी गरिए पनि रोजिन उत्पादन गर्ने उद्योग भने कच्चा पदार्थ र कामदार अभावका कारण पूर्ण रुपमा सञ्चालन हुन नसकेको हो। तर अघिल्लो वर्षको तुलनामा २०८० पुस मसान्तसम्म भने केही उद्योगको उत्पादनमा वृद्धि भएको छ।

रोजिन १२३ दशमलव २४ प्रतिशत, चामल ५४ दशमलव ६९ प्रतिशत, साबुन ५९ दशमलव ९० र इँटाको १५० दशमलव शून्य प्रतिशतले उत्पादनमा वृद्धि भएको छ। त्यस्तै गहुँको पिठो २४ दशमवल ५, चिनी ३ दशमलव १८ र तोरीको तेल ३० दशमलव ४६ प्रतिशतले उत्पादनमा गिरावट आएको छ। यस्ता वस्तु उत्पादन गर्ने उद्योगहरुको क्षमता उपभोग घटेका कारण उत्पादनमा कमि आएको नेपाल राष्ट्र बैंक धनगढीले गरेको अध्ययन प्रतिवेदनले देखाएको छ।

कमेन्ट लोड गर्नुस