सुदूर नेपाललाई विश्वसँग जोड्दै

सत्संगको क्रममा भागदौड, मृत्यु हुनेको सङ्ख्या १ सय नाघ्यो

२०८१ असार १९, ०६:०९

उत्तर प्रदेश: उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या एक सय नाघेको छ। उत्तर प्रदेश प्रहरीको आगरा जोनको एडीजी कार्यालयले यसको पुष्टि गरेको हो। 

एडीजी कार्यालयका अनुसार धेरै ठाउँमा शव लगिएको छ, त्यसैले मृत्युको यकिन सङ्ख्या पछि थाहा हुनेछ। यसअघि हातरसका प्रहरी उपरीक्षक निपुन अग्रवालले हातरस दुर्घटनामा करिब ६० जनाको मृत्यु भएको र १८ जना घाइते भएको जानकारी दिएका थिए।

स्थानीय पत्रकार धर्मेन्द्र चौधरीका अनुसार आगराका सीएमओले हातरसमा पोस्टमार्टमका लागि ठाउँ नरहेको बताएका छन्। समाचार तयार पार्दासम्म आगराको शवगृहमा ३० जनाको शव पुगेको थियो। यस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने प्रत्यक्षदर्शीले बताएका छन्।

यसअघि लोकसभामा राष्ट्रपतिको सम्बोधनमा धन्यवाद प्रस्तावमाथिको छलफलका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हातरस घटनाप्रति दुःख व्यक्त गरेका थिए। उनले मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

यसका साथै उत्तर प्रदेश सरकारले मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ। मुख्यमन्त्री योगी आदित्यनाथबाट जारी विज्ञप्तिमा घाइतेको शल्यक्रिया र उचित उपचारका लागि निर्देशन दिइएको छ।
घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शी ब्रजेशले स्थानीय पत्रकार धर्मेन्द्र चौधरीलाई भने, ‘कार्यक्रम सकिएपछि भोले बाबाको खुट्टाको धुलो उठाउन मानिसहरू दौडिएका थिए।

बाबा अर्को तर्फ जाँदा मानिसहरू त्यतातिर त्यतातिर दौडे। यो प्रक्रियामा धेरै मानिसहरू सडकको छेउको खाडलमा खसेर भागदौड मच्चियो, जसले गर्दा धेरै मानिसको ज्यान गएको थियो ।’ ब्रजेशका अनुसार मृतकमा अधिकांश महिला र बालबालिका रहेका छन्।

अर्का व्यक्ति श्री दयालले आफू र भाइ सौदान पनि प्रवचन सुन्न आएको बताए। तर यो घटनापछि उनको भाइको अवस्था भने खुल्न सकेको छैन। उनले भने, ‘कार्यक्रम सकिएपछि मानिसहरू निस्कन थालेपछि भागदौड मच्चियो र धेरै मानिस फसेका थिए। भाइको अवस्था पत्ता लाग्न सकेको छैन ।’ दिउँसो २ बजेतिर दुर्घटना भएको उनले बताए।

बीबीसी

कमेन्ट लोड गर्नुस