सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा विद्यालय बन्द गरी सबै शिक्षक भ्रमणमा

२०७६ जेठ २०, ०४:४१ खबर संवाददाता

अछाम जिल्लाको एक विद्यालयका शिक्षकहरु विद्यालय नै बन्द गरी भ्रमणमा गएका छन्। जिल्लाको मेल्लेख गाउँपालिका ७ नन्देगडास्थीत दुर्गादेवि माविका शिक्षकहरु एक साताका लागि विद्यालय बन्द गरेर भ्रमणमा निस्किएका हुन्। विद्यालय पुर्णबन्द गरी शिक्षक भ्रमणमा पठाउने निर्णय बिद्यालय व्यवस्थापन समितिले गरेको बुझिएको छ। बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नम्वर ७ का वडा अध्यक्ष नरवहादुर साउदकै अध्यक्षतामा बसेको बैठकले निर्णय गरेर बिद्यालय बन्द गरी शिक्षकलाई भ्रमणमा पठाएको हो। भ्रमणमा दुर्गादेवि माविका सबै शिक्षक कर्मचारी बाहेक सोही वडाका जानकी नमूना ग्वालेकोट, मंगलासैनी निमावि दुपाल्त, पुरानाकोट प्रावि, सरस्वती प्राविका प्रधानाध्यापक गरी १५ जना रहेको बुझीएको छ। 

गाउँपालिकाका अध्यक्ष लोकवहादुर बोहोराले आफुलाई भ्रमणमा गईसकेपछि मात्रै जानकारी भएको बताए। शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लक्ष्मण गिरीले बिद्यालय नै बन्द गरेर भ्रमणमा जानु शिक्षा निमावली विपरित हुने बताए। दुर्गादेवि माविका प्रधानाध्यापक कृष्ण विकले नमुना बिद्यालयको भ्रमणबाट केही कुरा सिकेर आफ्नो बिद्यालयमा पनि लागु गर्न भ्रमण गएको बताए। उनले रुपन्देही, चितवन लगायतका नमुना बिद्यालयको भ्रमण गरीने बताए। 
 

कमेन्ट लोड गर्नुस