सुदूर नेपाललाई विश्वसँग जोड्दै

६० किलो सुन तस्करीमा महरा र दीपेश पुनको संलग्नता देखिएन

२०८१ असार १७, ०५:२७ खबर संवाददाता

काठमाडौंः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एवम् एआईजी श्यामलाल ज्ञवालीले सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनको संलग्नता नदेखिएको बताएका छन्।

सुन तस्करीको दोश्रो चरणको अनुसन्धानबारे जानकारी दिन सोमवार काठमाडौंमा पत्रकार सम्मेलनमा सीआईबी प्रमुख ज्ञवालीले यस्तो बताएका हुन्। उनले विद्युतीय सामाग्री र ब्रेक सुमा लुकाएर ३ हजार १ सय ९४ दशमलव ६६८ सुन तस्करी भएको जानकारी पनि दिएका छन्।

‘भेपबाहेकको सुन तस्करीको अनुसन्धानका क्रममा पूर्वसभामुख कृष्णबहादुर महरा र दीपेश पुनको संलग्नता देखिएन’, उनले भने। ज्ञवालीले भेपबाट भएको सुन तस्करी र ६० किलो प्रकरण अलग अलग भएको बताए। ६० किलो प्रकरणमा महरा र पुन दुवैजनाको संलग्नता नदेखिएपछि उनीहरूको नाम उल्लेख नगरिएको बताए। तर ज्ञवालीले विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा भने उनीहरूको नाम जोडिएको बताएका छन्।

‘भेपमार्फत भएको तस्करी प्रकरण अलग्गै हो, त्यसमा अलग्गै अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘विमानस्थललबाट बाहिरिइसकेपछि बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा दुवैजनाको संलग्नता देखिएको छैन।’ सीआईबीले ६० किलो सुन तस्करी प्रकरण अनुसन्धानका क्रममा तयार पारिएको ५ सय ६२ पृष्ठको प्रतिवेदन सोमवार नै सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ।

सीआईबीले भन्सार ऐन, संगठित अपराध निवारण ऐन, मुलुकी अपराधसंहिता, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐनलाई आधार बनाएर प्रतिवादीबाट २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख बिगो माग दाबीसहित अनुसन्धान फाइल बुझाएको हो। सीआईबीले ब्रेक सूमा सुन लुकाएर ल्याएको अभियोगमा पक्राउ परेका २५ जनामध्ये २४ जना अभियुक्तहरू पुर्पक्षका लागि थुनामा रहेको पनि जनाएको छ।
 

कमेन्ट लोड गर्नुस