सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बैंक ऋणीको संख्या झण्डै ८२ हजार नाघ्यो, एक खर्ब ४० अर्ब ऋण

२०८१ असार १७, ०२:०७

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा बैंक ऋणीको संख्या झण्डै ८२ हजार पुगेको छ। २०८० पुस मसान्तसम्म कुल बैंक ऋण खाताको संख्या ८१ हजार ६७९ पुगेको हो।

बैंक ऋण खाता संख्या २०७९ पुस मसान्तसम्मको तुलनामा १८ दशमलव ६३ प्रतिशतले घटेको छ। यहाँ सञ्चालिन बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको संख्या भने बढेको छ। निक्षेप खाता संख्या १३ दशमलव ७७ प्रतिशतले बढेर ३६ लाख ३६ हजार ५११ पुगेको छ। एउटै व्यक्तिले दुई वा दुईभन्दा बढी बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता खोलेका कारण पनि यहाँको कुल जनसंख्याभन्दा बढी देखिन पुगेको हो।

बैंकहरुबाट विपन्न कर्जा लिनेको संख्या घटेको छ। यस्तो कर्जा ५ दशमलव ३२ प्रतिशतले घटेर ११ अर्ब ८ करोडमा सिमित देखिएको छ। गत वर्ष यस्तो कर्जा ४ दशमलव ३७ प्रतिशतले घटेको थियो। यहाँ सहुलियतपूर्ण कर्जा भने बढेको छ। यस्तो कर्जा ७ दशमलव ५४ प्रतिशतले बढेर १० अर्ब ४० करोड पुगेको छ।
निक्षेप बढ्यो
सुदूरपश्चिममा सञ्चालित बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको छ। २०८० पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप २०८० असार मसान्तसम्मको तुलनामा एक दशमलव ८१ प्रतिशतले बढेको छ। सो अवधिसम्म निक्षेप बढेर एक खर्ब ३६ अर्ब ८३ करोड १६ लाख पुगेको छ। गत वर्षको सोही अवधिमा भने यस्तो निक्षेप शून्य दशमलव ४२ प्रतिशतले ह्रास आएको थियो।
कर्जा लगानी घट्यो
सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानी घटेको छ। २०८० पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कुल कर्जा २०८० असार मसान्तको तुलनामा ७ दशमलव २८ प्रतिशतले घटेको छ। सुदूरपश्चिममा एक खर्ब ४० अर्ब ६६ करोड २५ लाख कर्जा प्रवाह भएको छ। गत वर्ष भने यस्तो कर्जा ६ दशमलव ३७ प्रतिशतले बढेको थियो। सबैभन्दा बढी कैलालीमा ४७ दशमलव ७१ प्रतिशत र सबैभन्दा कम बाजुरामा २ दशमलव ३० प्रतिशत कर्जा लगानी भएको छ।
विदेश जाने बढे
सुदूरपश्चिमबाट विदेश जाने बढेका छन्। आर्थिक वर्ष २०८०/८१ को समिक्षा अवधिसम्म सुदूरपश्चिमबाट ९ हजार ७४७ पुरुष र ९ सय ४२ महिला गरी १० हजार ३८९ जनाले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृती लिएका छन्। पछिल्लो समय भारतबाहेकका मुलक जानेको संख्या बढ्दै गएको छ।
फण्ड ट्रान्सफर बढ्यो
गत वर्षको तुलनामा फण्ड ट्रान्सफर (तोडा चलान) बढेको छ। सुदूरपश्चिमको बाजुरा जिल्लाबाहेक अन्य नोट कोषहरुमा नेपाल राष्ट्र बैंक धनगढीबाट तीन अर्ब ७५ करोड सफा नोट फण्ड ट्रान्सफर भएको छ। गत वर्षको सोही अवधिमा सुदूरपश्चिममा रहेका नोटकोषहरुमा २ अर्ब ९५ करोड फण्ड ट्रान्सफर भएको थियो।
कति छन् वित्तीय संस्था
सुदूरपश्चिममा कुल ८ सय ४६ बैंक तथा वित्तीय संस्थाका प्रदेश र शाखा कार्यालय सञ्चालनमा छन्। यहाँ वाणिज्य बैंक तीन सय २६, विकास बैंक ५२, वित्त कम्पनी ६ र लघु वित्त विकास बैंक चार सय ४२ शाखा र प्रदेशस्तरीय गरेर सञ्चालनमा छन्। सबैभन्दा बढी कैलालीमा तीन सय ५८ र सबैभन्दा कम बाजुरामा २८ बैंक तथा वित्तीय शाखाहरुबाट वित्तीय कारोबार हुँदै आएको छ।

कमेन्ट लोड गर्नुस